म्याग्दीको पहिचान पुख्यौली नाच

0
445

सामुहिक रुपमा गाउने र नाँच्ने पुख्यौली नाच म्याग्दी जिल्लाको पहिचान बन्दै गएको छ । ‘पूर्खा’ शब्दमा ‘यौली’ प्रत्यय लागेर पु्ख्यौली शब्दको ब्यूत्पत्ति भएपनि यसलाई सोरठी, मादले मारुनी नाच, मारूनी नाच, पूरानो नाच, बुढापाकाको नाच, सरस्वती उतार्ने नाच, हाई हाल्ने नाच, सेदो पुर्ने नाच जस्ता धेरै नामले समेत चिन्ने गरिन्छ । आफ्ना पूर्वजका भाषा, वेशभुषा, संस्कार, इतिहास, रीतिरिवाजहरु पुर्खाले हस्तान्तरण गरेकाले पनि पुख्यौली नाचलाई पुर्खाले सन्ततीलाई उपहार दिएको मानिन्छ । 

सयौंबर्ष पुरानो इतिहास रहेको पुख्यौली जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुमा पर्ने जन्म, विवाह, भात खुवाइ, छेवरपास, मेलापर्व, उत्सव, स्वागत तथा सम्मान लगाएतका पर्वहरुमा पुख्यौली समुहको उपस्थिती हुन्छ । मृत्यु संस्कारमा गाउने समुह सक्रिय भएपनि नाचलाई भने कम प्राथमिकता दिने गरिन्छ । म्याग्दीको सहरबजार देखि दुर्गम बस्तीसम्म छरिएर बसोबास गदैं आइरहेका मगर, छन्त्याल, गुरूङ समुदायले पुर्खाको पालादेखि गाईदै र नाचिँदै आएको हुनाले परम्परालाई पालना गदैं मनोरञ्जन प्राप्त गर्ने गरिएकाले पनि ब्यक्तिगत उत्सव देखि सामाजिक अभियानमा पुख्याको चिनारी पुख्यौली नाच लिएर जाने गर्दछन् ।

सहभागी, गीत, संगीत, अभियन, शैली र उद्देश्य गरी सात तत्व भएको नाचमा सबैको आफ्नो भूमिमा खुलेर प्रस्तुत हुन्छन् । सामुहिक नाच भएकाले पनि यसमा मुख्य मादले, मादले, मारुनी, हँस्यौ्रली पात्रा र गायक मण्डलीले आफ्नो जिम्मेबारीलाई कुलशलतापूर्वक पुरा गर्छन् । पुख्यौली नाचका धेरै विषेशता पनि छन् । मनोरञ्जन, पुरुष पात्रद्धारा स्त्री पात्रको भेषमा अभियन, कलात्मक, जातीय संस्कृतिको संरक्षण आनुष्ठानिकता, परम्परागत मौलिक अभिब्यक्ती लगाएत धेरै छन् ।

पुरुषले महिलाको भेषमा अभियन गर्नुलाई पुरुष र महिला बीचको हार्दिकतापूर्ण सम्बन्धको रुपमा समेत लिने गरिएको मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरको भनाई छ। म्याग्दी जिल्लामा मगर समुदायभित्रका नयाँ पुस्तालाई आफ्नो कला र संस्कृतिको हस्तान्तरण अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गदैं आइरहेको मगर संघले पुख्यौली नाचले पुस्ताको उपहारलाई संरक्षण गरेको उनको भनाई छ ।

मगर समुदायले जनशक्तीको आधारमा दुई देखि चार जनासम्म चोली, गुन्यू, पटुका, घल्याक, पछौरी माला, हातमा चाँदीका लगाईदिएर मारुनी बनाइन्छ । नाचगान अवधिभर मारुनी भनेर बोलाउने गरिन्छ । मारुनीसंगै मादले समेत नाच्ने भएकले यसमा मारुनी र मादलेको भूमिकालाई अर्थपूर्ण तरिकाले हेरिन्छ । १६ ताल र १६ हाँगा हुन्छ । दुखःसुख, मायाँ पिरतीको विषयबस्तुलाई प्रस्तुत गरिने भएपनि नाचको क्रममा सबैभन्दा पहिले देवीदेउताको नाम लिइन्छ । देवीदेउताको चलनलाई देबी बाध्ने र बन्धन भन्ने गरिन्छ ।

नाचकै अवधीमा केहीलाई सरस्वती पनि उत्रिन्छन् । लामा, धामी, चोखो शरीर हुनेहरु काम्न थालेपछि काम्ने मानिसलाई ३, ९ र २२ तालसम्म छोड्ने गर्दछ । पुख्यौली नाँच प्रस्तुत गर्ने क्रममा देवी चढेपछि निकै घण्टौसम्म प्रस्तुत समेत गर्ने गरिन्छ । जिल्लाको करिव ४८ प्रतिशत जनसंख्या रहेको मगर समुदायले दुईबर्ष अगाडी जिल्लास्तरीय प्रतियोगिता समेत गरेको थियो भन हरेकबर्ष मगर समुदायको प्रमु्ख पर्व माघे संक्रान्तीको अवसरमा पुख्यौली नाचलाई विषेशस्थान दिने गरेको छ । जिल्लाको सबै स्थानीय तहस्तरीय समिति गठन गरेपछि यसबर्ष आफ्ना पुराना कला र संस्कृतिलाई संरक्षण गर्ने अभियानलाई प्राथमिकता दिएको बताउँदै त्यसले जिल्लाको पहिचानलाई समेत जोगाउने मगर अगुवाको भनाई छ ।

दुखलाई लुकाएर सुखशान्तिको कामना गर्ने नाचलमा अन्य जातजातिले समेत खुलेर सहयोग गर्ने गर्दछन् । बालबालिकादेखि बृद्धबृद्धालाई पुख्यौलीले नाच्ने र गाउन उस्काउने गर्दछ । समुदायस्तरबाटै संरक्षणमा देखिएको सक्रियताले भने राज्यका निकायलाई छुन सकेको छैन् । यस्ता पुराना कला र संस्कृतिलाई जर्गेना गर्ने अभियानमा सरकारी निकायले कुनै बजेटको विनियोजन गर्ने गरेका छैनन् । समुदायकै चन्दा र सक्रियतामा सयौंबर्ष पुराना नाचको जर्गेना गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।

पुख्यौलीको चिनारी खोज्दै पुन

पुनमगर समुदायमा पुस्ताले सुम्पिएर गएको पुराना कला र संस्कृति पश्चिमा संस्कृतिले छपक्कै छोपेको अवस्थामा लोभ हुने अवस्थामा पुगेपछि लोपउन्मुखको सुचीमा पर्ने खतराबाट जोगाउन पर्वत जिल्लाको बासखर्क घरभई हाल ललितपुरमा बस्ने प्रतिभा पुनले पुख्यौलीको संरक्षणमा साविकको धौलागिरी अञ्चलभित्रको म्याग्दी, पर्वत र बागलुङका विभिन्न बस्तीमा स्थलगत रुपमै पुगेकी छन् ।

एमफिल अध्ययनमा पुख्यौली सम्बन्धि गतिविधिमै आधारित थेसिस समेत पुरा गरेकी छन्। ‘पुख्यौली पुनमगर समुदायको अमुल्य निधी हो,‘पुराना पुस्ताको मेहनतलाई जोगाउन पनि नयाँ पुस्तालाई यसमा आर्कषित गर्नुपर्छ’ पुनले भनिन् । उनले पुख्यौली नाचको स्थलगत रुपमै पुगेर अवलोकन गर्दा पुराना कला र संस्कृतिलाई अझैपनि जोगाउन सकिने अवस्था रहेको बताउँछिन् ।

मृत्युलाई कुरेर बसेका बृद्धबृद्धालाई समेत पुख्यौली नाचको धेरै चिन्ता रहेको आफुँले पाएको बताउँदै यसै क्षेत्रमा पिएडी गर्ने सोच रहेको बताईन् । उनले पुख्यौली, लोकगीत र लोकनाचलाई दस्तावेज बनाएर नयाँ पुस्तलाई हस्तान्तरण गर्ने अभियान अन्तरगत पुख्यौली लोकनाचको एक चिनारी समेत प्रकाशित गरेको बताईन् । पुनको अभियानमा पुनमगर समुदायका अगुवा तथा संघसंस्थाले समेत खुलेरै सहयोग गरेका छन् । अहिले गाउँबस्तीमा पुख्यौली लगाएत पुराना लोकभाकाका बारेमा बुझ्न पुग्ने गरेकी पुनले पुस्ताको सम्पत्तीलाई लोभ हुनबाट जोगाउन समुदायले खेलेको भूमिकालाई राज्यका नियकाले समेत सहयोग गर्नुपर्ने बताउँछिन् ।

कलिला बालबालिकाले पुख्यौली सिक्दै
अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययरत अरुण पुर्जाले नियमित पुख्यौली नाच सिक्छन् । उनले विद्यालयको समय बाहेक पुराना कलाकारहरुको उपस्थितमा पुख्यौली सिक्न लागेको एकबर्ष पुरा भयो । पूर्जासंगै सोही विद्यालयका विबस चोचाङ्गी, एशिस शेरपुञ्जा, एकचन्द्र पुन अनमोला पुर्जाले पनि पाका कालारकाले जस्तै पुख्यौलीमा सहभागी हुन्छन् ।

बुढापाकासंगै मादले र मारुनी भएर बालबालिकाले गाउँदेखि प्रतियोगितासम्म सहभागीता जनाउने गरेको दृष्यले धेरैलाई आर्कषित गर्ने गरेको छ । ‘विद्यालयभित्र पनि हामीले सिक्छौ,‘पढाईलाई असर नगर्ने गरी मैले धेरैपटक कार्यक्रममा सहभागीता जनाएको छु’ कक्षा ७ मा अध्ययरत एकचन्द्र पुनले भने । उनले प्रतियोगितामा नयाँ सिक्ने अवसर मिल्ने गरेको बताए । बालबालिकाको सक्रियताले स्थानीय पुराना कलाकार समेत उत्साहित छन् । उनीहरुलाई सोही विद्यालयका प्रधानध्यापक सुक बहादुर गर्बुजाले समेत सिकाउँछन् । गर्बुजा पनि कलाकार हुन् । विद्यालयभित्र शुक्रबारे कार्यक्रममा समेत बालबालिकाले पुख्यौली नाचमा सहभागीता जनाउने अवसर पाउने गरेको प्रअ गर्बुजाको भनाई छ ।