देविस्थानमा एकिकृत घुम्ती शिवीर,गाउँमै सरकारी सेवा पाएपछि स्थानीय उत्साहित

0
353

जिल्लाको मालिका गाउँपालिका वडा नं ५ देविस्थानमा शनिबार एकिकृत घुम्ती शिवीरमा सेवा लिनेको घुईचो लागेको छ। जिल्ला प्रशासन कार्यालयको आयोजना र मालिका गाउँपालिकाको समन्वयमा आयोजित शिविरमा साँझसम्म सेवाग्राहीको भीड लागेको थियो । भिम माविको प्राङ्गनमा आयोजित सदरमुकाम बेनीबाट सेवाप्रवाह गरिरहेका सरकारी कार्यालय तथा गाउँपालिकाबाट उपलब्ध हुने सेवा उपलब्ध गराइएको वडा अध्यक्ष पीपला बुढाले बताईन् । उनका अनुसार प्राविधिक समस्याका कारण शनिबार साँझसम्म शिविर सञ्चालन भइरहेको बताईन् ।

शिवीरको उद्घाटनमा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढा, शसस्त्र प्रहरी गलेश्वर यूनिटका प्रमुख अनिल कार्की लगाएत गाउँपालिकाका कर्मचारीको उपस्थिती रहेको थियो। शिविरमा नागरिकता, अपाङ्ता परिचयपत्र लिने,निःशुल्क स्वास्थ्य परिक्षणमा भीड थियो । ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

उनले जिल्लाका विभिन्न स्थानीय तहसंग सहकार्य गरी शिविर सञ्चालन गरिएको बताए ।गाउँपालिकाका अध्यक्ष रोकाले गाउँपालिका भित्रका जनतालाई केन्द्र बाहेक गाउँमै पुगेर समेत सेवासुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । सरकारी सेवासुविधा एकैठाउँबाट लिन पाउँदा नागरिकहरुमा समय र खर्चको समेत बचत भएको सेवाग्राहीले बताएका थिए ।शिविरमा सहायक प्रजिअ लीलादेवी आर्यालको नेतृत्वमा रहेको सरकारी टोलीले सेवाग्राहीलाई सेवा दिएका थिए । देविस्थान भित्रका सबै बस्तीबाट शनिबार विहानै सेवा लिन आएका थिए ।

नयाँ संविधान र संघियताको कार्यान्वयन संगै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अनुभुती दिलाउन घुम्ती शिविरले रचनात्मक सहयोग पु¥याएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । आर्थिक अभाव, भौगोलिक विकटता तथा सडक सञ्जाल ग्रामिण क्षेत्रसम्म पुगेपनि स्थानीयले राज्यबाट प्राप्त हुने सेवासुविधा लिन सदरमुकाम बेनीसम्म आउन समस्या रहेको थियो ।