बेनी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माउण्टको पोल्टामा

बेनी नगरपालिका अन्तर माविस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिताको च्याम्पियन बेनीस्थित माउण्ट एभरेष्ट आवासीय मावि भएको छ । सदरमुकाम बेनीमा जारी प्रतियोगितामा सबैभन्दा धेरै स्वर्णपदक जित्दै प्रतियोगिताको उपाधी जित्ने निश्चित भएको हो ।

प्रतियोगिता अन्तरग भएका विभिन्न खेल अन्तरगत भलिबल, कवड्डी र मार्सल आर्टका खेलमा माउण्ट हावी भएसंगै पदकमा अगाडी देखिएको छ । प्रतियोगिताको छात्र तर्फको फाइनल खेल बाहेक सम्पूर्ण खेल समापनसंगै पदक तालिकामा माउण्ट एभरेष्ट १८ स्वर्ण, ३ रजत, १३ काँस्य पदक सहित प्रथम स्थानमा छ भने न्यू वेष्ट पोइन्ट आवासीय मावि १० स्वर्ण, १४ रजत र १२ काँस्य सहित उपविजेता र प्रकाश मावि ६ स्वर्ण, १० रजत र १ काँस्य सहित तेस्रो स्थानमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत कवड्डीको छात्र तथा छात्रा तर्फको दुवै खेल माउण्टले कब्जा गरेको छ । कवड्डीको पुरुषमा न्यू वेष्ट पोइन्ट र छात्रा तर्फ अर्जुन मावि भकुन्डे उपविजेता भएका छन् । छात्रा भलिबलमा माउण्टले न्यु वेष्ट पोइन्टलाई पराजित गरेको छ । प्रतियोगिता अन्तरत एथ्लेटिक्समा राष्ट्रिय मावि घतानका आय खत्री र न्यू वेष्ट पोइन्टका तेजिन घर्ती चम्किएका छन् । खत्रीले दुई स्वर्ण, एक रजत र घर्तीले दुई स्वर्ण एक रजत, एक काँस्य जितेका छन् । प्रतियोगिताको अन्तिम खेल सोमबार सकिएसंगै विजेतालाई पुरस्कार वितरण गरिने मार्सल आर्टका अफिसियल विरेन्द्र श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

प्रतियोगिताको अवसरमा नीजी तथा सामुदायिक विद्यालय, विभिन्न जातीय संघसंस्थाले बेनीबजार परिक्रमा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । यसबर्षदेखि जिल्लाका सबै स्थानीयतहमा आफ्नो क्षेत्रभित्र पर्ने माविस्तरीय विद्यालयको उपस्थितीमा प्रतियोगिता गरिएको छ ।