कराँतेका प्रज्वल शेरचनलाई दुई स्वर्ण, मार्सल आर्टमा माउण्टको बचस्व

शरीरको हरेक भागमा हात तथा खुट्टाले प्रहार गर्ने मार्सल आर्ट अन्तरगतका खेलमा प्रज्वल शेरचनले दुई स्वर्ण पदक जितेका छन् । बेनी नगरपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगितामा राष्ट्रियस्तरका खेलमा समेत सहभागिता जनाइरहेका शेरचन सम्रग मार्सल आर्ट अन्तरगतका खेलमा उत्कृष्ट खेलाडी घोषित भए । उनले ५२ केजीमा स्वर्ण र उत्कृष्ट खेलाडी गरी दुईवटा स्वर्ण पदक जितेको अफिसियल विरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार शेरचनको खेल उत्कृष्ट रहेकाले पनि प्रदेश तथा राष्ट्रियस्तरका खेलमा उचित अवसरको आवश्यकता रहेको बताए ।

यसैबीच मार्सल आर्ट अन्तरगतका सबै खेलमा माउण्ट एभरेष्ट आवासीय माविले बचस्व कायम गरेको छ । खेलअवधिभर माउण्टले १२ स्वर्णपदक जितेको छ । कराँतेमा ६ मा ६ वटै स्वर्ण माउण्टले जितेको छ भने तेक्वान्डोमा माउण्टले ३ स्वर्ण, बुद्ध एकेडेमी १ स्वर्ण, गलेश्वर आर्दश मावि १ स्वर्ण पदक जितेका छन । त्यस्तै उसुमा माउण्टले ३ स्वर्ण, न्यू वेष्ट पोइन्ट १ स्वर्ण, लिटल गार्डेन ऐकेडेमी १ र बालमन्दिर आधारभुत विद्यालयका खेलाडीले १ स्वर्ण जितेका छन् ।

मार्सल आर्टको पदकले माउण्टलाई प्रतियोगिताकै च्याम्पियन बनाउन सफल भएको छ । विगतका बर्षमा मार्सल आर्टलाई सो म्याचको रुपमा खेलाउने गरिएपनि यसबर्ष देखि पदक सहित अंक तालिकामै समावेश गरिएपछि आगामी बर्ष देखि विद्यालयस्तरमा मार्सल आर्ट अन्तरगतका खेलले प्राथमिकता पाउने प्रशिक्षकहरुको भनाई छ । सदरमुकाम बेनी सहित नगरपालिका भित्रका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयले समेत नियमित मार्सल आर्टको प्रशिक्षणको सुविधा दिएमा सामाजिक रुपाम हुने अपराधिक घटनालाई न्यूनिकरण गदैं छात्राले समेत आफ्नो आत्मरक्षाका लागी प्रयोग गर्न सक्ने प्रशिक्षकहरुको भनाई छ ।