सहरी तथा ग्रामिण क्षेत्रमा विद्यमान रहेको जातीय छुवाछुत प्रथा विरुद्ध विद्यार्थीले जनचेतनामुलक कार्यक्रम सुरू गरेका छन् । आधुनिक समाजमा समेत सामाजिक कुमान्यता र कानुनी रुपमा बन्देज भेदभाव र छुवाछुत गर्ने विरुद्धमा सदरमुकाम बेनीस्थीत लिटल गार्डेन एकेडेमीका विद्यार्थीले सडक नाटक तथा गीतसंगीत मार्फत जनचेतना फैलाउने अभियान सुरू गरेका हुन् ।

बेनी नगरपालिका वडा नं ७ विरेन्द्रचोकमा सडक नाटक मार्फत छुवाछुतले सामाजिक तथा मानवीय सम्मानमा गम्भीर असर गर्ने भन्दै बालबालिकाबाटै छुवाछुत विरुद्धको अभियान सञ्चालन गर्नुपर्ने अवस्था तथा छुवाछुतकै कारण समाजिक चेतनामा देखिएका समस्या लगाएत विभिन्न गतिविधिमा केन्द्रित भएर नाटक प्रस्तुत गरेका थिए ।

विद्यार्थीले सडकमै छुवाछुत विरुद्ध रचनात्मक गतिविधि सुरु गरेपछि सर्वसाधारणले समेत सकारात्मक अभियान भन्दै सर्मथन गरेका थिए ।‘छुवाछुतलाई सबैले बिर्सनुपर्छ,‘हामीजस्तै साना बालबालिकाबाटै अभियानलाई तिब्रता दिनुपर्छ’शक्ती सुबेदीले भने । विद्यालयमा कक्षा ४ मा अध्ययरत सुबेदीले बालबालिका मार्फत अभिभावक हुदै समाजमा सन्देश फैलाउने गरी अभियानको सुरुवात गरेको बताए । सडक नाटकमा अभिभावक, डाक्टर, मुखिया, झाक्रीँ, बैद्य, शिक्षक लगाएतको भूमिकामा देखिएका विद्यार्थी सबै कक्षा ४ मा अध्ययरत रहेको विद्यालयका संस्थापक बालकृष्ण सुबेदीले बताए ।

‘कुप्रथाको विरुद्धमा विद्यार्थीले अभियान नै सञ्चालन गरेका छन्,‘हरेक विद्यार्थी मार्फत अभिभावकलाई सन्देश नै पठाउँछन्’ सुबेदीले भने । उनले विद्यालयमा अध्ययरत विद्यार्थीको योजनालाई सफल बनाउने प्रतिबद्धता जनाए । ‘विद्यार्थी उमेरमै सामाजिक चेतना अब्बल बनाउने प्रयासमा छौ,‘उनीहरुबाटै समुदायमै सन्देश पुग्ने गरी अभियान सञ्चालन भइरहेको छ’ सुबेदीले भने ।

विद्यालयमा कक्षा ४ मा अध्ययरत विद्यार्थीले नाटक सहित सदरमुकाम बेनीबजारमा जातीय छुवाछुत विरुद्धको सांगितिक यात्रा समेत गरेका थिए । करिव ५० जना विद्यार्थीको उपस्थिती रहेको थियो । विद्यालयले कक्षा ४ देखि माथिका विद्यार्थीलाई छुवाछुत सहित सामाजिक अभियानका बारेमा जानकारी गराउने गरी सार्वजनिकस्थलमै कार्यक्रमलाई प्राथमिकता दिएको छ । ब्यवहारमा स्वच्छ भए समानताको भावना जागृत हुने भएकाले पनि सामाजिक अभियानलाई विद्यालयले बार्षिक कार्यक्रम भित्र समावेश गरेको जनाएको छ ।