नेपाली कांग्रेस म्याग्दीले सदरमुकाम बेनीमा सरकारविरुद्ध प्रर्दशन गरेको छ । दुईतिहाईको बलमा सरकारले जनताको भावना विपरित अधिनायकवादी चरित्र देखाएको भन्दै केन्द्रिय कार्यक्रम अन्तरगत सदरमुकाम बेनीमा आयोजित सभामा पार्टीका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले लोकतान्त्रिक पद्धतीबाट सत्तामा पुगेको सरकारको चरित्र अधिनायकबादी भएको बताएका थिए ।

उनले वर्तमान सरकार गठन भएको एकबर्षको कार्यशैली अल्पमतको सरकार जस्तै भएको बताए। ‘सरकारको कार्यशैलीबाट जनता निराश भएका छन्,‘कांग्रेसले एक्लै सरकारका गलत क्रियाकलाप विरुद्ध लड्न सक्छ’ उनले भने ।सरकारले भ्रष्टचारी बलात्कारीलाई संरक्षण गरेको बताउँदै प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले सदन र सडकमा सरकारको गलत क्रियाकलाप विरुद्ध आन्दोलनलाई निरन्तरता दिने बताए ।

सभामा पूर्व सांसद रेशम बहादुर बानियाँ, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, पूर्व जिल्ला सहसभापति नेत्र बहादुर महत, जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी, तरुण दलका जिल्ला अध्यक्ष मुकुन छन्त्याल, महिला संघकी अध्यक्ष बिमला गौचनले वाइडबडी विमान खरिदमा घोटालामा संलग्न बाहलवाला मन्त्रीलाई सरकारले संरक्षण गरेको बताए । निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको लगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

पार्टीका जिल्ला सभापति खम्बीर गर्बुजाले स्थानीय तहमा कांग्रेसबाट विजय भएका जनप्रतिनिधिलाई प्रभावकारी काम गर्ने वातावरण बनाउँदै केन्द्रिय निर्देशन संगै जिल्लामा समेत जनताको घरदैलोमा पुग्ने गरी अभियान सञ्चालन गर्ने बताए। विरोधसभा बेनीबजारका विभिन्न चोक परिक्रममा गरी आवारोडमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । सभाको पार्टी सचिव मिन बहादुर कार्कीले सञ्चालन गरेका थिए ।