बेनी कोराला सडक : निर्माण कार्यको ‘रुटिन’ अव्यवस्थित भएकोमा पर्यटकको चिन्ता

0
  • सुशीलबाबु थकाली हिमाली जिल्ला मुस्ताङ हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोराला नाकालाई जोड्ने एकमात्र बेनी-कोराला सडक खण्डको काम धमाधम भैरहेको छ । ५ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उक्त सडकको बिभिन्न सात खण्डमा अहिले निर्माण कार्य धमाधम भैरहेको निर्माणमा जुटेका कम्पनीहरुले बताएका छन् । निर्माण कार्य सुरु भएको पनि २ बर्ष पूरा हुन लागिसकेको छ ।

बेनीदेखि जोमसोमसम्म ४ र जोमसोमदेखि कोरालासम्म ३ गरि जम्मा ७ खण्डमा सडकको काम द्रुत गतिमा भैरहेको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले तोकिदिएको समय कार्यतालिका अनुसार काम भएपनि बेलाबेलामा समस्या देखिने गरेको यात्रु एवं पर्यटकहरुको गुनासो छ ।बिहान र बेलुका जोमसोमबाट पर्यटकहरु लिएर हिडेका कतिपय सवारी र त्यसमा सवार पर्यटकहरु कहिलेकाही त समय भन्दा बढी रोकिनुपरेको गुनासो आइरहेको छ ।

प्रशासनले तोकिदिएको समय बिहान ७.३० देखि ११.३० सम्म सडक स्तरवृद्धिको काम हुने र ११.३० देखि २.३० सम्म सवारी आवागमनका लागि खुला गरिदै आएको छ । पुनः २.३० देखि ६.३० सम्म सडक स्तरवृद्धिको काम हुने गरेको छ । तर प्राविधिक समस्या देखाउदै प्रायजसो सडक खुलाउने काममा बहानाबाजी हुने गरेको पर्यटहरुको गुनासो छ ।

काम बिशेषले पोखरा हिडेका थासाङ गाउँपालिका ५ मुस्ताङका जीवन गोतामेले अहिलेको यो रुटिन समय सापेक्ष नभएको बताए । प्रायजसो काम बिशेषले पोखरा आउजाउ गर्नुपर्ने हुन्छ । तर समस्या भने जस्ताको तस्तै छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ बादरजुङ भिर र मुस्ताङको थासाङ गाउँपलिका ४ को सीमानामा पर्ने यस स्थानले अहिले सबैलाइ सास्ती दिन थालेको गोतामेले बताए । उनले समय तालिका बर्खा यामको लागि उपयुक्त भएपनि हिउँदको लागि सही नभएको बताए ।

रात लामो र दिन छोटो हुने हुनाले पनि पर्यटक लगायत सवारीलाई धेरै समस्या देखिएको गोतामेको भनाइ छ । गाडी रोकिने स्थनमा न खाने न बस्ने कुनैको पनि व्यवस्था नभएकोले पर्यटकहरुमा समस्या देखिएको छ । हतारहतारमा गाडीमा आएपनि घण्टौसम्म सवारी जाममा बस्नु पर्ने र अझ बिरामीहरु ल्याउदा त धेरैनै समस्या खेप्नुपरेको गोतामे बताउछन् । उनी भन्छ्न – बेनी कोराला अन्तर्गतको बादरजुङ भिरमा भैरहेको कामको जति प्रशंसा गरेपनि कमै हुने उनी बताउछन् । यद्यपि समय तालिकाअनुसार पर्यटकहरूलाई आउजाउमा धेरै नै समस्या छ, बेलैमा सम्बन्धित सरोकारवाला निकाय र जिल्ला प्रशासन कार्यालय म्याग्दी र मुस्ताङले यसमा ध्यान दिन अत्यन्तै जरुरी रहेको गोतामेले बताए ।

उता बेनी कोराला सडक खण्डका प्रमुख सुपरभाइजर इद्रसिं शेरचनले काममा त्यस्तो कुनै पनि कमजोरी नभएको बताएका छन् । अहिले आफुहरुलाई काम गर्न धेरै नै चुनौती रहेको तर पर्यटक र सवारी यातायातको समस्यालाई ध्यानमा राखी काम अगाडि बढिरहेको जिकिर पनि शेरचनको छ । शर्मा गजरमुखी जेबीले लिएको ठेक्का अन्तरगको ३७ किलोमिटरको कामलाई तदारुकता दिन हरदिन लागिपरेको उनको भनाइ छ । अन्नपूर्ण गाउँपालिका म्याग्दीको तातोपानी कुण्डदेखी मुस्ताङको थासाङ गाउपालिका २ कोबाङ्सम्म जेबीले लिएको निर्माण कार्य अहिले सोचेको भन्दा दोब्बर राम्रो भैरहेको उनले बताए ।

यतिबेला मुस्ताङमा जाडोले काम नभैरहेको अवस्थामा पनि निर्माण कम्पनीहरुले कामलाई रत्तिभर ढिलाइ नगरी काम अगाडि बढाएका पनि सुपरभाइजर शेचरनको भनाइ छ । उनले आफुहरुले जिल्ला प्रशासन कार्यालय म्याग्दीले तोकिदिएको समय सीमा मै काम अगाडि बढाइरहेका तर कहिलेकाही प्राविधिक कारणले ढिलाइ हुनु अस्वभाविक नभएको पनि बताए ।

अहिलेको समय तालिका जिल्ला प्रशासन कार्यालय म्याग्दी र सर्वदलीय बैठक बसेर बनाएको हो ।तर सवारी रोकिने स्थानमा कुनै पनि होटल तथा रेस्टुरेन्टहरु नभएकोले पनि केहि समस्या देखा परेको छ । कहिलेकाही प्राबिधिक समस्या हुँदा लामो समय सवारी रोक्नुपर्ने हुन्छ । त्यतिबेला यात्रुलाई समस्या हुने शेरचन स्वीकार्न तयार छन । तर कहिलेकाही एम्बुलेन्स र इमर्जेन्सी सवारीहरुलाई निर्माण कार्य भैरहेको बेलामा पनि बाटो खुला गरेर आउजाउ सहज बनाउने गरेको सुपरभाइजर इन्द्रसिं शेरचनले बताए ।उता थासाङ गाउँपालिकाका प्रमुख बुद्धि प्रसाद शेरचनले पनि सडक स्तरवृद्धिको कार्यमा कहि कतै कमजोरी नभएको बताए । बेलाबेलामा देखिने गरेको समस्या सामान्य भएको उनको भनाइ छ ।

दैनिकजसो भैरहने यो प्रक्रियामा बरु सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बताउँदै गाउँपालिका प्रमुख शेरचनले सबै प्रहरी चौकीका सुरक्षाकर्मी जवानहरूलाई निरन्तर अपडेन रहन बारम्बार अनुरोध गरेको जानकारी पनि दिए ।गाउँपालिका प्रमुख शेरचनका अनुसार बादरजुङ भिरमा भैरहेको काम अत्यन्तै जोखीम रहेकोले पनि उनीहरूलाइ केहि भन्न नमिल्ने बताए । खासगरी उक्त स्थान वरपर बाटो अत्यन्तै साघुँरो भएकोले पनि सडक स्तरवृद्धि कार्य त्यति सहज हुन नसकेको उनी स्वीकार्न तयार छन् ।