गलेश्वरका जेष्ठ नागरिकलाई औषधी र औजार खरिदमा सहयोग

0

बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा अवस्थित आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकलाई यूकेमा रहेको एक संस्थाले औषधी उपचार, औजार तथा फर्निचर खरिदमा १ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गोरखा पिस फाउण्डेसन यूकेले आश्रममा बस्ने जेष्ठ नागरिकलाई लक्षित गरी स्थापना गरिएको गलेश्वरमा सामुदायिक स्वास्थ्य इकाईमा औषधी, औजार तथा फर्निचरको ब्यवस्थापनका लागी उपलब्ध गराएको आर्थिक संस्थाका प्रतिनिधि मेजर देब बहादुर पुनले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीलाई हस्तान्तरण गरे ।

संस्थाले गलेश्वरमा रहेका बृद्धबृद्धालाई आवश्यक पर्ने औषधी सहित उपचारमा सहजताको वातावरण बनउन सहयोग गरेको प्रतिनिधि पुनले बताए । कोषका अध्यक्ष केसीले आर्थिक सहयोगलाई बृद्धबृद्धाको उपचार तथा ब्यवस्थापनमा खर्च गर्ने बताए । उनले इकाईमा सरकारले उपलब्ध गराएको निशुल्क औषधी बाहेक बृद्धबृद्धालाई आवश्यक पर्ने औषधी र उपचारमा प्रयोग हुने औजार खरिद गरिने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वरधाम जेष्ठ आश्रमका उपाध्यक्ष बम बहादुर पुन, अन्नदान क्षेत्रका अध्यक्ष उपाध्यक्ष भिमनाथ पराजुली,गोरखा पिस फाउण्डेसन यूकेका प्रतिनिधि मन बहादुर पुन, स्थानीय गलेश्वर आमा समुह, जेष्ठ नागरिक लगाएतको उपस्थिती रहेको थियो । आश्रममा अहिले ६९ जना बृद्धबृद्धा आश्रित छन् । आश्रममा बस्ने बृद्धबृद्धाले गलेश्वर मन्दिरभित्र भजनकृतन सहित धार्मिक कार्यमा समेत सहयोग गर्ने गरेका छन् । कार्यक्रमको अवसरमा सहयोगदातालाई सम्मानपत्रले सम्मानित गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन आश्रमका सचिव खगराज पोख्रेलले गरेका थिए ।