न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुले बलेवाका दृष्टिबिहिन विद्यार्थीहरुलाई खाजा वितरण गरेका छन् । विद्यालयको कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीहरुले जनाताधन मावि बलेवा बाग्लुंगमा अध्ययनरत फरक क्षमता भएका (दृष्टिबिहीन) विद्यार्थीहरुलाई बिस्कुट र फलफुल वितरण गरेका हुन् । वेष्ट पोइन्टबाट अध्ययन अबलोकन भ्रमणमा गएका कक्षा ५ का १२४ विद्यार्थी र ५ जना शिक्षकहरुले आफ्नो खाजा खर्च कटाएर फलफुल तथा खाजा वितरण गरेका हुन् । जनताधन माविमा एकीकृत शिक्षा प्रणाली अनुसार २४ जना दृष्टिबिहीन बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

वेष्ट पोइन्टले माघ महिनालाई आफ्नो शैक्षिक क्यालेण्डरमा अध्ययन अबलोकन तथा भ्रमण महिनाको रुपमा अबलोकन गराउने गरेको छ । उनीहरुले बलेवा एअरपोर्ट अबलोकन गर्ने क्रममा जनताधन माविमा पुगेर आफु जस्तै साथीहरुलाई थोरै भए पनि सहयोग गरेको बताए । साथै ब्रेल लिपि भनेको केहो, र कसरी पढाईन्छ, भन्ने बिषयमा समेत जानकारी प्राप्त गरेका छन् ।

कक्षा कोठामा मात्रै सिमित राखेर गरिने शिक्षण विधि भन्दा समाजसंग जोडेर लैजाने शिक्षा जीवनोपयोगी हुने र विद्यार्थीमा सामाजिक मूल्य मान्यताको विकास हुनेहुदा यसले कक्षागत सिकाइमा सहजता ल्याउने गर्दछ । विद्यार्थीले घरमा, समुदायमा सिकेको कुरा विद्यालयमा र विद्यालयमा सिकेको कुरा परिवार र समुदायमा विद्यालयमा अनुसरणगर्ने हुदा सिकाइलाई घर परिवार समाज संग समायोजन गरेर लैजानु पर्ने आजको आवश्यकता रहेको शिक्षक कृष्ण जिसीले बताउनुभएको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ ।