मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने

जल तथा मौसम विभागले तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने औंल्याएको छ । पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली नेपाल प्रवेश गरेको भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि शनिबारसम्म देशभर वर्षा र उच्च क्षेत्रमा हिमपात हुन सक्ने जनाएको हो । पश्चिमी भू–भागका थोरै स्थानमा आजै हल्का वर्षा र पश्चिमी तथा मध्य उच्च हिमाली भागमा हल्का हिमपात हुन सक्ने बताइएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना औंल्याइएको छ । भोलि पनि सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी साथै मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षा हुने सक्ने बताइएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको भन्दै मौसमविदले केही दिन ‘ट्रेकिङ’ नजान सुझाव दिएका छन् ।