अन्नपूर्ण चक्रिय पदमार्गका जंगलमा वन्यजन्तुको संख्या बढ्यो

0

विश्वप्रशिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत उत्तरी म्याग्दीका हिस्तान,दोबा,नारच्याङ,घोडेपानी लगाएतका जंगलहरुमा पछिल्लो समय वन्यजन्तुहरुको संख्यामा वृद्धि भएको छ ।अनुकुल वासस्थान र आहाराको कमीका कारण अन्नपूर्ण क्षेत्रबाट वसाई सरेर गएका पंक्षी र जंगलीजनावरहरु पनि केही यता यहाँका जंगलहरुमा देखिन थालेका स्थानीयले बताएका छन् ।

“समुदायलाई वन हस्तान्तरण गरिएपछि जंगलको संरक्षण राम्रोसंग भएको छ” अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानका वडाअध्यक्ष गमबहादुर फगामीले भन्नुभयो “जंगलको संरक्षण भएसंगै जंगली जनावरहरुको लागि चाहिने उचित वासस्थान र आहाराको कमी नहुँदा वसाइ सरेर गएका पंक्षी तथा वन्यजन्तुहरु पनि यहाँका जंगलमा फर्किएका छन् ।”

अन्नपूर्ण चक्रिय पदमार्ग वरपरका राम्चे,हिस्तान,घार,शिख,नारच्याङ,दाना,भूरुङतातोपानी र दोवाका जंंगलहरुमा हाब्रे,भालु,बाघ,रेडपाण्डा,मृग, चिबे, कालिज,जुरेलो,तित्रो लगाएतका जंगलीजनावर र पंक्षीहरु प्रशस्त मात्रामा देखिने गरेका अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाअध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिनुभयो ।फगामीका अनुसार यस क्षेत्रका जंगलहरुमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा पनि प्रशस्त मात्रामा देखिएका छन् ।

रेडपाण्डा लगाएतका लोपोन्मुख अवस्थामा रहेका जंगलीजनावर तथा पंक्षीहरुको संरक्षणका लागि गाउँपालिकाले विशेष व्यवस्था गर्न लागेको पनि अध्यक्ष फगामीले जानकारी दिनुभयो । उता जंगलीजनावरहरुको बृद्धिभएसंगै स्थानीयले सास्ती पनि खेप्नु परेको अन्नपूर्ण १ दोवाका मनप्रसाद गर्वुजाले बताउनुभयो । जंगली जनावरहरुले खेतवारीमा लगाएतका बालीनाली र घर गोठमा पालेका पशु पंक्षीहरुलाई क्षति पुराउन थालेपछि स्थानीयले हैरानी व्यहोर्नु परेको उहाँको भनाइ थियो ।