डाँफे संरक्षणमा म्याग्दीका स्थानीय सक्रिय

0

म्याग्दीको उच्च हिमाली भेगहरुका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पंक्षीको मान्यता पाएको  डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् ।समुद्री सतहदेखि ३ हजार मिटर भन्दा माथिल्लो क्षेत्रमा पाइने यो पंक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयले बताएका छन् ।

जमिनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताउनुभयो ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखका वडाअध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जंगलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)संग सहकार्य गरेर संरक्षण अभियान संचालन गरिएको जानकारी दिनुभयो । सन् १९९९ मा चराविद् कक्सले गरेको अनुसन्धान अनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७ सयको हाराहारीमा डाँफे भेटिएका उल्लेख गरिएको छ ।

सशस्त्र द्धन्द्धकालमा चोरी शिकारी र आगलागीका कारण डाँफेको संख्या घटेकोमा २०६५ सालयताको एक दशकको अवधिमा यसको संख्या दोब्बरले बृद्धि भएको स्थानीयले बताएका छन् । विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने ८ प्रकारका थोरै उड्ने र जमिनमा दौडने पंक्षीका प्रजातीमध्ये डाँफे सवैभन्दा आकर्षक र ठूलो प्रजातीको पंक्षी हो ।

नेपालमा डाँफेको संख्या ३ हजार ५ सयदेखि ५ हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताउनुभयो ।चोखालका अनुसार सन् १९७३ को बन तथा बन्यजन्तु ऐनमा यो पंक्षीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत गरिएको छ । यो पंक्षी विशेषगरी  अफगानिस्तान,पाकिस्थान,तिब्बत,भुटान र नेपालमा पाइने चोखालले बताउनुभयो । विश्वका अत्यन्त कम देशहरुमा मात्र पाइने र नेपालमा राष्ट्रिय पंक्षीको मान्यता दिइएको डाँफेको संरक्षणका लागि स्थानीयले गरेको प्रयास अत्यन्त सह्रानीय रहेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।