हिमपात र झरीका कारण जनजीवन हायलकायल : संचारसम्पर्क विच्छेद,वस्तीहरु बेखबर

0

म्याग्दीको उपल्लो क्षेत्रमा निरन्तरको हिमपात र तल्लो क्षेत्रमा तीनदिन देखिको लगातारको झरीका कारण यहाँको जनजीवन हालयकायल भएको छ ।हिमपातले पर्यटकीय क्षेत्र घोडेपानी÷पुनहिल,महरे, खोप्रा, गुर्जा लगाएत जिल्लाको अधिकांश वस्तीहरु हिउँले ढपक्कै ढाकिएको छ । मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् भने पशु चौपायाँहरु गोठमा भोकभोकै वाँध्न बाध्य भएका छन् ।

हिमपातबाट म्याग्दीको दुर्गम गुर्जा सबैभन्दा बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जामा पुग्ने पैदलमार्ग हिउँका कारण अवरुद्ध भएपछि आवतजावत बन्द भएको र संचार सम्पर्क विच्छेद भएका कारण गुर्जाको अवस्था दयनीय रहेको सदरमुकाम बेनीमा रहनुभएका गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

त्यसैगरी उत्तरी म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानी लगाएतका उत्तरी क्षेत्रका वस्तीहरु पनि मानवसम्बन्धबाट विच्छेद भएका छन् । गुर्जामात्र होईन जिल्लाका माथिल्लो भेगका प्रायः सवै वस्तीका गोरेटो तथा घोरेटो बाटोमा बाक्लो हिउँ जमेपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन । वस्ती विच्छेद भएका छन ।

उपल्लो म्याग्दीमा ‘तीन फिटजति हिउँ परेको छ । बाक्लो हिमपातका कारण घोडेपानीमा पर्यटकहरु रोकिएका छन भने पैदलयात्रा पुरै अवरुद्ध छ’ घोडेपानी पुगेर बेनीमा फर्किएका नवलपुरको गैडाकोट नगरपालिका ६ का पुष्पराज पौडेलले भन्नुभयो ।उपल्लो म्याग्दीका सबै डाडाँहरुमा सेताम्यै हिउँ परेपछि डाँडाहरु पनि हिमाल जस्तै देखिएका उहाँले जानकारी दिनुभयो ।

उपल्लो क्षेत्रमा बाख्लो हिमपात र तल्लो क्षेत्रमा लगातारको झरीका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । मानिसहरु काम विशेषले पनि घर बाहिर निस्कन सकेका छैनन् । आज शनिवार बिबाहको लगन पनि भएकोले जन्तजाने मानिसहरु पनि प्रभावित भएका छन् । निरन्तरको झरीका कारण बृद्धबृद्धा,बालबालिका,पशुचौपायाँ मात्र होइन युवायुवतीको दिनचर्या समेत प्रभावित भएको छ । रुघाखोकी र ज्वरोका विरामीहरु बढेका स्थानीयले बताएका छन् ।