यसरी हुदैछ १६ औ शताब्दीमा निर्मित ताकम कोतको पुनःनिर्माण

म्याग्दीको एतिहाँसिकस्थल धौलागिरी गाउँपालिका–७ मा अवस्थित ताकम कोतको पूननिर्माणमा स्थानीयले चन्दा संकलनलाई तिब्रता दिएका छन् । जगन्नाथ–अन्नपूर्ण मन्दिर र कोतघरको पुनःनिर्माणसंगै पर्यटकीय तथा धार्मिकस्थलको रुपमा विकास गर्ने स्थानीयले करिब २ करोड ५० लाखको लागतमा मन्दिर र कोतघरको संरक्षणसंगै घेराबार र पदमार्ग सहितका पूर्वाधारलाई थप सहयोग जुटाउने निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए ।उनले समितिले पहिलो चरणमा मन्दिर र कोतको निर्माणसम्पन्न गर्ने बताए । ‘घेराबारसंगै अन्य संरचना बनाउने कार्यलाई पनि संगै लैजान्छौ’ थापाले भने ।

उनका अनुसार स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट आर्थिक सहयोग जुटाउने कार्यमा ताकम, धारापानीबासीले सक्रियता देखाएपछि छोटो समयमै ५३ लाखको सहयोग प्रतिबद्धता जनाइएको छ । विदेशबाट मात्रै २२ लाख संकलन भएको समितिले जनाएको छ । स्वदेश तथा विदेशमा रहेका स्थानीयहरुले सहयोगको प्रतिबद्धता जनाइरहेकाले लक्ष्य अनुसार पहिलो चरणमा २ करोड ५० लाख संकलन गर्न सकिने समितिको भनाई छ ।

जिल्लामै पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई असर नगर्ने गरी पूननिर्माण तथा जिर्णद्धारमा स्थानीयले एकदशक यता चासो देखाइरहेका थिए । आर्थिक सहयोग जुटाउन समितिका संयोजक सहित होम बहादुर थापा लगाएतको टोली काठमाण्डौमा पुगेको थियो । ताकमकोत तथा धारापानी र ताकम गाउँ आसपासका क्षेत्रमा मिनी एयरपोर्टको सम्भावनाका विषयमा अध्ययन भइरहेको छ ।

अत्याधिक पर्यटकीय सम्भावना समेत भएकाले धवलागिरी गाउँपालिका हुदै छिमेकी बागलुङ, रुकुम जिल्ला तथा हिमाल आरोहण,ढोरपाटन शिकार आरक्ष, गुरिल्ला पदमार्गमा आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले बताए । समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिने ताकमका यूवा गोपाल आचार्यले बताए ।

उनका अनुसार उनका अनुसार अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् ।पश्चिम म्याग्दी हुदै गुरिल्ला, धौलागिरी आधार क्षेत्र र ढोरपाटन शिकार आरक्ष जाने आन्तरिक तथा बाह्य पर्यटकलाई कोतसम्म पुग्ने गरी विभिन्न जानकारीमुलक साम्रागी समेत बनाइने धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

उनका अनुसार ऐतिहाँसीक महत्वका हात हतियार, मुर्ती, भाडाँकुडाहरु रहेको जगन्नाथ मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर पुनःनिर्माण गर्न लागिएकाले पनि गाउँपालिकाले समेत प्राथमिकता दिएको बताए । नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ । मन्दिर वि.स २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसीक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हात हतियार छन् ।

सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन् । छिमेकी मालिका गाउँपालिकाको देविस्थानबाट समेत कोतसम्म पुग्ने गर्दछन् । यसैबीच ताकम कोतमा आवतजावत गर्ने भक्तजनलाई लक्षित गरी ताकम घनाबस्ती विकास कार्यक्रमको लागि तयार पारिएको डिपीआर अनुसार ताकमकोत जोड्ने पदमार्ग निर्माणको कार्य समेत भइरहेको छ ।डिपिआर अनुसार करिब तीन सय मिटर पदमार्ग निर्माण गरिने छ।