हिउँ नपग्लँदा बैकल्पिक ट्याक बनाएर जोखिमपूर्ण यात्रा

उपचारको क्रममा काठमाण्डौमा ज्यान गुमाएका धवलागिरी गाउँपालिका–१ गुर्जाका बालकुमार छन्त्यालका परिवार सहितको टोलीले ज्यान हत्केलामा राखेर यात्रा गरे । बर्षासंगै हिमपातले गाउँ जाने बोटामा करिव २ फिट हिउँ जमेपछि घरेलु हतियार सहित औजारको प्रयोग गरी मृतक छन्त्यालका आफन्तसंगै वडा अध्यक्ष झकबहादुर छन्त्याल समेत गाउँ पुगे।

छिमेकी लुलाङका आसपासकै जंगलमा कडा चट्टानजस्तै जमेको हिउँ फोर्न हातमा औजार लिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको वडा अध्यक्ष छन्त्यालले बताए । ‘एकसातासम्म ओहोरदोहोर गर्ने सम्भावना छैन्,‘हिउँ पग्लिन एक महिनै लाग्न सक्छ’ छन्त्यालले बेनीअनलाइनलाई भने ।

उनका अनुसार पदमार्ग पुरिएपछि जंगल तथा आसपासका क्षेत्रबाट ट्याक खोलेर गाउँसम्म पुगेको बताए । ‘हिउँमा चिप्लिएर चोट लागेको छ,‘पुरानो हिउँ नपग्लिदैं हिमपात भएपछि चट्टानजस्तै जमेकाले समस्या भएको बताए । हिमपातका कारण पदैलमार्गबाट लैजानुपर्ने खाद्यान्न समेत पु¥याउन सकस भएको स्थानीयको भनाई छ ।लुलाङ र गूर्जाको सिमाना पर्ने देउरालीबाट गूर्जासम्मको बाटो जोखिम रहेको बताए । देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो ।हिउँलाई काट्दै ट्याक बनाउन गुर्जाबासीले जनश्रमदान गर्नुपर्ने अवस्था रहेको छ ।

पैदलमार्गमा हिउँ जमेपछि आवतजावतको क्रममा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी गाउँबाट बेनीसम्म आउने योजना बनाएका समेत रोकिएका छन् । गूर्जाबाट सदरमुकाम बेनी आउने देउराली बाहेकका अन्य बैकल्पिक मार्गहरु समेत हिमपातले बन्द छन् । गुर्जाबाट मुदी हुदै आउने ट्याक भएपनि भयानक जोखिमपूर्ण रहेको छ । मौसममा परिवर्तन भएपनि गूर्जा गाउँमै करिव १ फिट हिउँ रहेको स्थानीय गुनाराम छन्त्यालले बताए ।

उनका अनुसार हिमपातका कारण बन्द भएको विद्यालय सुरुवातको प्रयास गरिएपनि नियमित पठनपाठनमा समस्या हुने बताए । ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै स्थानीयको भनाई छ । गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन् । हिमपातका कारण अवरुद्ध मोबाईल सेवा सुचारु भएको छ ।