१४ वर्षीय बालक हत्याका आरोपी गर्बुजा पक्राउ

पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपमा पर्वतको जलजला गाउँपालिमा मल्लाज बस्ने बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजा पक्राउ परेका छन् । पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका गर्बुजाले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो । आरोपी मृतक सिञ्जालीका साथी समेत हुन् । हल्लनचोकस्थित निर्माणाधीन एक भवनमा सिञ्जालीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीलाई आज बिहान २.३० बजे घटनाका बारेमा जानकारी गराइएको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीसहितको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान शुरु गरेलगत्तै हत्या आरोपित पक्राउ पर्न सफल भएको हो ।

सचिनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । सचिनका बुबाआमाबीच सम्बन्ध राम्रो नभएकाले अलग अलग बस्दै आएका छन् । आमा लेकसाइडमा स्पा सञ्चालन गर्छिन् भने बुबाले फ्रेस हाउस सञ्चालन गर्दैआएका छन्। सचिन हजुरआमा र आमासँगै बस्दै आएका थिए ।