नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे २ सयजना लाभान्वित भएका छन् ।

निःशुल्क आँखा परीक्षण शिविरमा २ सय ४० जनाको आँखा परीक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधी वितरण गरिएको छ । तीमध्ये ५ जनाको तुरुन्तै मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने भेटिएको हुँदा उनीहरुलाई हिमालय आँखा अस्पताल घारीपाटन पोखरा रिफर गरिएको आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँले बताए ।

शिविरको केन्द्र प्रमुख बानियाँसहित पुलाचौर स्वास्थ्यचौकीका अहेव कल्पना ढुङ्गाना र शहरी स्वास्थ्य केन्द्र सेताढुङ्गाका अनमी चन्द्रप्रभा भण्डारीले बिरामीको चेकजाँच गरी स्वास्थ्य सेवा दिएका थिए । शिविरको अवसरमा बिरामीहरुको प्रेसर समेत जाँच गरिएको थियो । उक्त शिविरमा भीरमुनी, पुलाचौर, चिप्लेटी, डडुवा र पुलाडाँडाबाट सर्वसाधारणहरु सेवा लिन आएका थिए । पौलस्त्य माविका शिक्षक तथा विद्यार्थीहरुले शिविरमा स्वयंसेवा गरेका थिए ।

शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण क्षेत्रबाट सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन नसक्ने सर्वसाधारणहरुलाई लक्षित गरेर गाउँगाउँमा शिविर सञ्चालनमा जोड दिइएको बताइन् । उनले बेनी नगरपालिकाले जनताको समस्या समाधान गर्ने र शिक्षा, स्वास्थ्य तथा खानेपानीको विकासमा प्राथमिकता दिएको बताउँदै स्थानीय जनताले पनि सघाउनुपर्ने बताएकी थिइन् ।

बेनी नगरपालिकाको आर्थिक, रेडक्रस म्याग्दी शाखा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक तथा हिमालय आँखा अस्पताल पोखराको विशेष सहयोग र बेनपा–५, वडा कार्यालयको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको थियो । पौलस्त्य माविको प्राङ्गणमा आयोजित शिविरलाई विद्यालयका पूर्व अध्यक्ष मिनबहादुर बानियाँले २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । रेडक्रस पुलाचौर उपशाखाका कार्यवाहक सभापति शिव बानियाँको अध्यक्षता, सचिव रेशम बानियाँको सञ्चालन र पौलस्त्य माविका प्रधानाध्यापक प्रेमबहादुर बानियाँले मन्तव्य राखेको कार्यक्रममा कोषाध्यक्ष गोविन्द बानियाँले स्वागत गरेका थिए ।