बेनीको फोहोर ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

बेनी नगरपालिकाले फोहोरमैला ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने सम्झौता गरेको छ । सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा संकलित फोहोरमैलाको उचित ब्यवस्थापनमा चुनौती बन्दै गइरहेको अवस्थामा भोली अर्थात फागुन १ गतेदेखि लागु हुने गरी ‘मिसन फर वेस्ट म्यानेजमेन्ट’ प्रालि नामक संस्थालाई जिम्मा दिने सम्झौता गरेको हो । मंगलबार बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ सहितको टोलीको उपस्थितीमा वेस्ट म्यानेजमेन्ट पोखराका याम बहादुर दर्जीको उपस्थितीमा सम्झौतापत्रमा हस्ताक्षर भएको प्रबक्ता रामकृष्ण बराईलीले बताए ।

‘फोहोर ब्यवस्थापनमा सहज हुनेछ,‘अहिलेसम्म देखिएको समस्या समाधान हुन्छ’बराईलीले भने । उनका अनु्सार बजारक्षेत्रमा संकलित फोहोरबाट प्राप्त आम्दानीको ६० प्रतिशत प्रालि र ४० प्रतिशत आम्दानी नगरपालिकाले पाउने छ । सहमतिपत्रमा फोहोर संकलनका लागि नगरपालिकामा रहेका ट्याक्टरको प्रयोग, तीनजना चालक सहित कर्मचारीको तलबसुविधा, मर्मतसम्भार, इन्धनको खर्च प्रालिले गर्ने छ भने बेनीबजारबासीले पहिले जस्तै नगरपालिकामै पुगेर फोहोरको शुल्क तिर्नुपर्ने छ ।

बेनी–गलेश्वर सडकखण्ड अन्तरगत रातोपहिरोमा सडक नजिक बनाइएको संकलन केन्द्रमा फोहोर जम्मा गरिने छ ।प्रारम्भिक सम्झौता भएकाले चालु आर्थिकबर्षसम्म कम्पनीको कामलाई समेत मुल्याङ्कन गरिने नगरपालिकाले जनाएको छ । निजी कम्पनीसंगको सहकार्यको मोडेलका लागि नगरपालिकाका जनप्रतिनिधि सहितको टोलीले विभिन्न क्षेत्रमा पुगेर अवलोकन समेत गरेको थियो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको नेतृत्वमा वालिङ नगरपालिकामा समेत पुगेर नमुना फोहोर ब्यवस्थापनका लागि सहकार्यको प्रयास गरेका थिए ।

नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि खरिद गरेका ट्याक्टर सहितको उपकरणको मर्मत तथा कर्मचारीको तलबसुविधा सहितको खर्च कम हुने जनाएको छ ।सम्पूर्ण खर्च कटाएर समेत नगरपालिकालाई कुल आम्दानीको ४० प्रतिशत प्राप्त हुने भएकाले पनि आर्कषित भएको नगरपालिकाले जनाएको छ । यता प्रत्येक घर, गल्ली, खोला किनार,सार्वजनिक स्थलबाट फोहोरमैला संकलनको प्रतिवद्धतालाई इमान्दारितापूर्वक पुरा गर्ने मिसन फर वेस्ट म्यानेजमेन्टले जनाएको छ ।

विगतमा नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर जलाउनु पर्नेमा एकै ठाउँमा ट्याक्टरबाट ल्याएर फाल्दा दुर्गन्ध फैलिने गरेका थियो । बढ्दो बजारीकरणसंगै एकदशक फोहोर रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको फोहोर नयाँ ब्यवस्थापसंगै कम्पोस्ट मल, बायोग्यास लगाएत विभिन्न माध्यमबाट उपयोग हुने भएकाले पनि बेनी नगर तथा आसपासका क्षेत्र स्वच्छ र सफा हुने अनुमान गरिएको छ। रातोपानीमै करिव ४४ लाखको लागतमा संरचनाको निर्माण गरिएपनि फोहोर विर्सजन अस्तब्यस्त रहेको भन्दै नगरबासी तथा यात्रुले गुनासो गर्ने गरेको अवस्थामा निजी क्षेत्रको आगमनले सहज हुनेमा नगरबासी आशाबादी छन् ।