नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार बेनीमा २४ औ जनयुद्ध दिवस मनाएको छ । दिवसको अवसरमा हाँडेभिर स्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले पार्टी एकताको प्रक्रियाले छिट्टै पूर्णता पाउने बताउनुभयो ।

स्थानीय तह सम्मकै एकता प्रक्रियालाई अन्तिम रुप दिन लागिएको थापाको भनाई थियो । पार्टी, नीति र नेतृत्वप्रति विश्वास गरेर एकतावद्ध भएर अघि बढ्ने थापाले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टीमा विभाजन ल्याउन विभिन्न तत्व सक्रिय भएपनि त्यसलाई नेतृत्वले राम्रोसँग बुझेको र एकताबाट पछि हट्ने ठाउँ नरहेको स्पष्ट पार्नुभयो । संघीय, प्रदेश र स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यक रहेको थापाको भनाई थियो ।

गण्डकी प्रदेशका सांसद तथा नेकपाका प्रदेश सदस्य बिनोद केसीले जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै एकतालाई बलियो बनाउन र जनताको आधारभुत आवश्यकता पुरा गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।सहिदको बलिदान, हजारौ योद्धाको योगदानबाट राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, संघीय, समावेशी शाषन व्यवस्था आएको बताउँदै प्राप्त राजनितिक उपलब्धिलाई अव जनताको जिवन स्तर रुपान्तरणमा परिणत गर्नुपर्ने उहाँको भनाई थियो ।

पूर्व सांसद तथा नेकपाका प्रदेश सदस्य नवराज शर्माले विगतका कमजोरी र तित्ततालाई भुलेर नयाँ तरिकाले सोचेर एकताको भावना अनुसार अघि बढ्न आवश्यक रहेको बताउनुभयो । योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले जनयुद्ध र जनआन्दोलनकै कारण अहिले प्राप्त भएका राजनीतिक उपलब्धिबाट जनताले आफ्नो अधिकार पाएको बताउनुभयो ।

गणतन्त्र र संघीय व्यवस्थालाई विकास, आर्थिक सम्बृद्धी र जनजिविका सुधारमा उपयोग गर्ने यो महत्वपूर्ण अवसर भएको उहाँको भनाई थियो । कार्यक्रममा सहभागि नेकपाका नेता कार्यकर्ताहरुले सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने, एकता प्रक्रियालाई छिटो सक्नुपर्ने र कम्प्युनिष्टको आदर्श र सिद्धान्त अनुसार व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए नेकपाका प्रदेश कमिटि सदस्य गोविन्द पौडेलको अध्यक्षता, जिल्ला संयन्त्रका सदस्य रेशम जुक्जाली (सुबिन)को सञ्चालन र नेता देवेन्द्रबहादुर केसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तत्कालिन नेकपा माओवादीले सामन्तवादको अन्त्य, गणतन्त्रको स्थापना लगायतका एजेण्डा सहित २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो । माओवादीको नेतृत्वमा दश वर्षसम्म चलेको जनयुद्ध २०६२ को दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियामा रुपान्तरण भएको थियो ।जनयुद्धको नेतृत्व गरेको तत्कालीन माओवादी र नेकपा एमाले २०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको क्रममा तालमेल गरेका थिए भने २०७५ जेठ ४ मा पार्टी एकताको घोषणा गरेका थिए । एमाले र माओवादीको एकतापछिको पार्टीको नाम नेकपा बनेको छ । सन्तोष गौतम