मालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

0

पश्चिम म्याग्दीको दरबाङमा मालिका गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिता सुरू भएको छ । मालिका गाउँपालिकाको आयोजनामा जनप्रिय माविको खेलमैदानमा सञ्चालित प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गदै शिक्षा र स्वास्थ्यका लागि खेलकुद अनिवार्य रहेको बताईन्।

उनले प्रदेश सरकारले ग्रामिण क्षेत्रमा लुकेका प्रतिभालाई उजागर गर्ने गरी खेलकुद क्षेत्रमा समेत प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताईन् । विद्यार्थीलाई शिक्षा र खेलकुदको क्षेत्रमा सक्षम बनाउने गरी विद्यालयस्तरमा समेत अतिरिक्त क्रियाकलापलाई प्राथमिता दिनुपर्ने उनको भनाई थियो । 

प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले जिल्लाका सबै वडामा खेलमैदानको आवश्यकता रहेको बताए । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले म्याग्दी खेलकुद क्षेत्रमा सम्भावना भएको जिल्ला भएको बताए । उनले स्थानीय तहस्तरीय प्रतियोगिताले विद्यालयभित्र रहेका खेलप्रतिभालाई सार्वजनिक गर्ने बताए ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले प्रतियोगितासंगै विद्यालयस्तरमा हुने खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताए । उनले गाउँपालिका भित्रका वडास्तरमा हुने मेलापर्वलाई ब्यवस्थित गरी प्रतियोगितात्मक क्रियाकलापलाई प्राथमिकता दिने बताए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपाध्यक्ष खरमायाँ विटालुले स्वागत, जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माको सञ्चालन गरेका थिए । प्रतियोगिताको अवसरमा नीजी तथा सामुदायिक विद्यालय, विभिन्न जातीय संघसंस्थाले दरबाङ बजार परिक्रमा गरेका थिए ।

भलिबल, एथ्लेटिक्स, कबड्डी अन्तरत विभिन्न खेल सञ्चालन हुने र प्रतियोगिता संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदीले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । प्रतियोगितामा मालिकाभित्रका ११ विद्यालयको सहभागिता रहेको छ ।