अन्नपूर्ण गाउँपालिकामा शैक्षिक सुधार अभियान

0
263

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले शैक्षिक सुधारका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । गुणस्तरीय शिक्षाका लागि देखिएका चुनौतीको समाधान तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउने कार्यक्रमलाई प्राथमिकता दिने गरी वडा नं २ भूरुङ तातोपानीस्थति सर्वोदय माविमा शुक्रबार आयोजित कार्यक्रम आयोजित कार्यक्रमका उद्घाटन गदैं गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले सामुदायिक विद्यालयभित्रका कमीकमजोरीलाई पहिचान गर्नुपर्ने बताए ।

उनले गाउँपालिका भित्रका सबै विद्यालयमा एकै किसिमको योजना लागु गदैं विद्यार्थी संख्या बढाउनुपर्नेमा जोड दिए।‘शिक्षा सुधारका लागि विशेष योजना ल्याउनुपर्छ,‘मैले शिक्षालाई प्राथमिकता दिइरहेको छु’ पुनले भने । उनका अनुसार आफ्नो सुविधालाई समेत शिक्षाको क्षेत्रमा खर्च गरेको बताए ।अभिभावकको चासो र शिक्षकले आफ्नो जिम्मेबारी पुरा गदैं ब्यवस्थापन समितिले विद्यालय प्रशासनलाई सघाउन सकेमा विद्यालयलाई शैक्षिक क्षेत्रमा नमुना बनाउन सकिने बताइएको थियो ।

सोही अवसरमा शिक्षक र विद्यार्थीलाई विद्यालय समयमा अन्य पठनपाठन बाहेक अन्य गतिविधिमा सक्रिय बनाउने, १० बजेदेखि ४ बजेसम्म नियमित उपस्थिती गराउने सबै पिरियड पढाइ हुने वातावरण तत्काल मिलाउन गाउँपालिकाले सबै विद्यालयलाई सचेत गराइएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए । उनका अनुसार शिक्षक समयमै नआउने, ध्यानपूर्वक नपढाउने जस्ता गुनासो धेरै आउने गरेको बताए । आगामी नयाँ शैक्षिक सत्रमा भर्ना अभियानमा अभिभावकलाई समेत सहभागी बनाएर समेत न्यून विद्यार्थी रहेका विद्यालयमा विद्यार्थीको संख्या बढाउन समेत पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

विद्यार्थीको भर्ना र कक्षामा उपस्थिति तथ्यांकसमेत विश्लेषणको समेत आवश्यकता रहेको बताइएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयका प्रअ, विब्यसका अध्यक्ष, शिक्षकको उपस्थिति रहेको थियो । शैक्षिक सुधार कार्यक्रममा कालिका मानवज्ञान माविका धनश्याम पाठक, सोही विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, गाउँपालिकाका सामाजिक विकास संयोजक वडा नं २ का अध्यक्ष ओमप्रकाश फगामी, स्रोतब्यक्ति जयराम सुबेदी, नेपाल शिक्षक महासंघका अध्यक्ष रमन पुन लगाएतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन श्रोतब्यक्ति भरत पुनले गरेका थिए । कार्यक्रममा विद्यालयको वर्तमान अवस्था पहिचान गरी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने ८ वटै वडामा रहेका आधारभुत र मावि विद्यालयका प्रतिनिधिले प्रतिबद्धता जनाएका थिए ।