जिल्लाको मंगला गाउँपालिका–२ तल्लो डडुवाको घरैपिच्छे खानेपानीको धारा विस्तार गरिएको छ । नेपाल र फिनल्याण्ड सरकार, मंगला गाउँपालिका र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्मित आयोजनाको शुक्रबार उद्घाटन गरिएको हो ।

एक घर एक धारा अभियान अन्र्तरगत चिसापानी धोवी खोलाखानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तरगत ४७ लाख ५० हजार ६८२ रुपैयाँ लागतमा निर्मित आयोजनाको गाउँपालिकका उपाध्यक्ष सृजना केसीले उद्घाटन गदैं गाउँपालिका भित्रका सबै घरधुरीमा सफा खानेपानीको विस्तारलाई प्राथमिकता दिएको बताईन् ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाले विभिन्न परियोजनासंग सहकार्य गरेको बताईन् ।खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि तेस्रो अनुगमन तथा सार्वजनिक परिक्षण कार्यक्रममा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनासरसफाई विज्ञ चन्द्रभक्त विष्ट, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खातीले खानेपानी आयोजनाको संरक्षणमा समेत स्थानीयले निरन्तर सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए ।

आयोजान निर्माणका लागि नेपाल सरकारबाट १८ लाख ७२ हजार ८१५ रुपैयाँ, फिनल्याण्ड सरकार १० लाख ४७ हजार, ८३३ रुपैयाँ ,मंगला गाउँपालिका ४ लाख ७५ हजार ६८ र उपभोक्ताबाट नगद ४७ हजार ६८ र स्थानीय जनश्रमदान १३ लाख ४७ हजार ५ सय ६ रुपैयाँ रहेको छ ।आयोजनाबाट तल्लो डडुवाको एक सामुदायिक विद्यालय र ४७ घरधुरीका ३०१ लाभान्वित हुने समितिले जनाएको छ ।

गाउँमा घरदैलोमै खानेपानी पुगेपछि सहज भएको स्थानीय नेत्रराज सुबेदीले बताए ।आयोजनाको उद्घाटन तथा तेस्रो सार्वजनिक परिक्षण कार्यक्रममा समुदायले आफ्नो ब्यक्तिगत काम समेत छोडेर जनश्रमदानमा जुट्ने गरेको बताइएको थियो। कार्यक्रमको अवसरमा खानेपानीको संरचना तथा घरदैलोमा पुगेर समेत अनुगमन गरिएको थियो । आयोजनामा ६ ट्याक्की, ५ मुहान, १२ स्थानमा घेराबार गरिएकोमा चिसापानी, धोविखोला र रातोखोेलाबाट पानी ल्याइएको छ । कार्यक्रमको सञ्चालन गाउँपालिका वास संयोजक गोविन्द पौडेल, स्वागत समितिका कोषाध्यक्ष तेजप्रसाद उपाध्याय, आर्थिक तथा प्रगति प्रतिवेदन सचिव मोहन बहादुर खत्री र परियोजनाको तर्फबाट इन्द्र चन्दले मन्तब्य राखेका थिए भने अध्यक्षता श्रीकला अर्मजाले गरेकी थिईन् ।