सन्तोष गौतम
रनबाङ ३ फागुन । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य र पोषण सुधारका लागि स्थानीय खाद्यान्नको प्रयोगमा जोड दिनुभएको छ ।तयारी र आयातित खाद्यान्नको बढ्दो प्रयोगका कारण एकातर्फ देशको पैसा बिदेशिने र अर्कोतर्फ स्वास्थ्यमा विभिन्न समस्या देखिने भएकाले गाउँघरमै उत्पादन हुने खाद्यान्नको उपभोग गर्नुपर्ने मन्त्री पुनको भनाई थियो ।

मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले शुक्रबार मंगला गाउँपालिका २ सहश्रधारा स्थित बाबियाचौर स्वास्थ्य चौकी परिसरमा आयोजना गरेको फर्सीको खिर प्रर्दशनीमा भेला भएका आमाहरुलाई मन्त्री पुनले स्वस्थ नागरिक तयार पार्न खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

बालबालिकाको पौष्टिक आहराका लागि फर्कीको खिर बनाएर खुवाउने प्रबिधि सिकाउन मिलन म्याग्दीले सहश्रधारामा आयोजना गरेको कार्यक्रम वडा अध्यक्ष धनबहादुर खातीको अध्यक्षता र फिल्ड सुपरभाइजर भिमकुमारी बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एउटै परिकारबाट बालबालिकाको शारीरिक तथा वौद्धिक विकासका लागि आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले मिलन म्याग्दी मार्फत सञ्चालित सुआहारा कार्यक्रमले फर्सीको खिर बनाउने तरिका सिकाउन अभियान चलाएको हो ।पाकेको फर्सीमा दूध, घ्यू, ओखर, अण्डा, चिनी, नुन, साग र मकैको पिठा मिसाएर पकाएपछि खिर बनाउन सकिन्छ । धेरै थरीका पौष्टिक तत्व पाइने खाद्यान्न एकै ठाउँमा मिसाएर खुवाउने भएकाले फर्सीको खिर बच्चाको आहराका लागि पोशिलो र उपयोगी हुने सुआहारा कार्यक्रमका संयोजक गरिमा पुनले बताउनुभयो ।

विज्ञापन