मंगला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई खेर गइरहेको पिसाब सङ्कलनका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । समुदायलाई सचेत बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भन्दै गाउँपालिकाले वडा नं ५ अर्मनबाट ‘पिसाबलाई हिसाब’मा रुपान्तरण गर्न आयोजित तालिम सुरु गरेको हो । शुक्रबार शिशु कल्याण माविमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले मानवको मलमुत्र संकलन गरी तरकारी र सुन्तला खेतीमा प्रयोग गरिने बताए ।

‘तरकारी खेतीमा रसायनीक मलको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ,‘‘यसको प्रयोग भएका ठाउँमा पिसाब पनि चोरी हुन्छ’ रोकाले भने । उनका अनुसार पिसाब संकलन गरी हरेक कृषकले आर्थिक लाभ लिन सक्ने भएकाले पनि गाउँपालिकाले हरेक वडामा विद्यार्थी, शिक्षक, स्थानीयको उपस्थितिमा कार्यक्रम गर्ने बताए । उनले माटोको आयू र उत्पादन बृद्धि हुने भएकाले पनि विद्यालय, स्वास्थ्य चौकी लगाएत सार्वजनिकस्थलमा रहेका शौचालयमा पिसाब संकलन गर्न मिल्ने गरी संरचना बनाउने बताए ।

फागुन ३ देखि ६ गतेसम्म सञ्चालन हुने तालिममा मानवमुत्र संकलन गर्ने विधि, प्रयोग तथा बिक्री गरी आम्दानीको स्रोतका बारेमा समेत सहजिकरण गरिएको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार पशु मलमुत्र प्रयोगलाई समेत संगसंगै लैजाने गरी भकारो सुधारका कार्यक्रमलाई समेत आवश्यकता अनुसार प्राथमिकता दिने गरी तालिम सञ्चालन गरिएको बताए। तालिमको स्वागत गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र आचार्यले गरेका थिए ।

तालिमको अवसरमा गाउँकार्यपालिका सदस्य रत्न बहादुर बिक, गाउँसभा सदस्य चक्रलाल पाण्डे, विद्यालय नि.प्रअ उमादेवी कँडेल लगाएतको उपस्थिति रहेको थियो । तालिमको सहजिकरण विज्ञ श्रीरेन्द्र पोख्रेलले गरेका छन् । जिल्लामै प्रचुर सम्भावना रहेकाले गाउँपालिकाले अर्गानिक खेतीलाई प्राथमिकता दिएको छ । सामुदायिक बनमा फैलिएको बनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहोर, पात–पतिंगर लगाएत खेर गएका कच्चा पदार्थ संकलन गरी जैविक प्रांगारिक मल उत्पादन केन्द्रको स्थापनासंगै मंगला गाउँपालिकाले मानवको मलमुत्र संकलन गरी अर्गानीक खेतीमा प्रयोग सफल भएको छ ।