ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवन पद्धतिसँग जोडिएका पँधेरा र ढुङ्गेधाराहरु लोप हुँदै गएका छन् ।
बढ्दो सहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका पँधेरा र ढुंगेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् ।

बढ्दो जनसंख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुंगेधाराहरू भत्काइनुका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा पँधेरा र ढुङ्गेधारा लोप हुँदै गएका बेनी नगरपालिका २ विमिराबोटका नारायण शर्माले बताउनुभयो ।पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुंगेधाराको उपयोगमा पनि कमी आएको स्थानीयले बताएका छन् । अव्यवस्थितरुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय पँधेरा र ढुंगेधाराहरु पुरिएका बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो ।

म्याग्दीका ग्रामिण भेगमा रहेका कैयौं पँधेरा र ढुङ्गेधाराहरु लोप भै सकेका र भावि पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने म्याग्दीको इतिहाँस र संस्कतिका अध्येता कृष्णवहादुर बानियाँले बताउनुभयो ।

ढुङ्गेधारा र पँधेरा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि हराउँदै गएको स्थानीय बूढापाकाहरुले बताएका छन् । ‘उकाली ओराली गर्दा आँत हरर्र हुन्थ्यो’ बेनपा २ का ८६ वर्षिय भीमप्रसाद शर्मा (सापकोटा) ले भन्नुभयो ‘त्यतिबेला अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द अब कहाँ खोजेर भेटिएला र ?’

अब ‘गाउँ ’ गाउँ जस्तै नरहेको र गाउँको मौलिकता नै हराएर जाँदा कुरुप बनेको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । ‘न गाउँ गाउँ जस्तो रह्यो न त शहरको सुविधा नै गाउँले पाउन सक्यो’ धौलागिरि गाउँपालिकाको ताकमका ७६ वर्षिय बुद्धिप्रसाद सुवेदीले भन्नुभयो ‘सम्पदा नासिए,संस्कृति मासियो, गाउँ अधकल्चो जस्तो भयो ।

’साहित्यकार सुवेदीले पानी पँधेरो र ढुङ्गेधाराहरुसंग गाउँको संस्कृति,सभ्यताको अनन्त साइनो रहेको बताउँदै गाउँको सभ्यताको सुरुवात नै यस्तै सम्पदाहरुबाट भएको हो भन्नुभयो । दुई दशक अघिसम्म ग्रामिण महिलाहरुका लागि पानी पँधेरो नै दुःख,सुःख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको बताउँदै सुवेदीले पँधेरा र ढुङ्गेधाराहरु केबल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामिण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका उल्लेख गर्नुभयो ।

अहिले गाउँमा पँधेरा र ढुङ्गेधाराहरु मात्र होइन ढिकी,जाँतो,पानीघट्ट, ओखल र कोलहरु पनि लोप भैसकेका छन् । आयातित संस्कृतिले गाउँलाई कुरुप बनाउँदै छोडेपछि गाउँबासीहरुमा अपनत्व र भातृत्वमा पनि कमि देखिदै गएको स्थानीय बुद्धिजीविहरुको भनाइरहेको छ । सामुहिकतामा विश्वास गर्ने गाउँलेहरुको विश्वास भाचिदै गएपछि एकाँकीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरु पनि व्यपारी जस्ता बन्दै जान थालेका स्थानीय बयोबृद्धहरुले बताएका छन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदाहरुमा अतिक्रमण हुँदै गएको छ ।