शैक्षिक गुणस्तरका लागि जनता माविमा अक्षय कोष

0

मोहन तिलिजा\रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामको जनता माविले विद्यार्थीको पढाइमा गुणस्तर बढाउने अभियानका लागि अक्षयकोष स्थापना गरेको छ । स्वदेश तथा विदेशा रहेका दग्नामबासीका साथै रघुगंगा गाउँपालिका भित्रका विभिन्न वडाबासीले विद्यार्थीको शैक्षिक विकासमा खर्च गर्ने गरी कोषमा सहयोग गरेका हुन् ।

विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रविधिको पहुँच, विपन्नलाई सहयोगका साथै सम्रग शैक्षिक गतिविधिमा सहयोग पुग्ने गरी १ करोडको लक्ष्य सहित सुरु भएको कोषमा सहयोग गर्नेलाई शनिबार बेनीमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।मगर संघको हलमा आयोजित चन्दादाता सम्मान कार्यक्रममा विद्यालयका प्रधानध्यापक गुन पुनले बालबालिको हितमा ब्यक्तिगत रुपमा सहयोग प्राप्तले सहज भएको बताए ।उनले विद्यालयका शुभचिन्तकमार्फत संकलन भएको सहयोगलाई कोषको रुपमा राखेर खर्च गरिने बताए ।

सम्मान कार्यक्रममा रघुगंगा गाउँपालिकाबाट सदरमुकाम बेनी, गलेश्वर सहित देशका विभिन्न जिल्लाका साथै विदेशमा समेत सहयोगीदतालाई सम्मान गरिने कार्यक्रम अन्तरगत बेनीमा रहेका सहयोगदातालाई सम्मान गरिएको विद्यालयले जनाएको छ। सम्मान कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष एकबहादुर गर्बुजाले समुदायको प्रयासमा विद्यालयलाई प्राप्त सहयोगले सहज भएको बताए । उनले समुदायको सहयोगले समेत अपुग भइरहेको अवस्थामा गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने अन्य पूर्वाधार सहित शैक्षिक क्रियाकलापमा गाउँपालिका सहित सरकारी निकायबाट समेत बजेटको माग गरिने बताए ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका बम बहादुर पुन ५५ हजार ५५५, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गर्बुजा ५५ हजार, कुमार गर्बुजा हाल बुनाई ५२ हजार, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल ५१ हजार, सुकमति गर्बुजा ५० हजार ३३३ र चिन बहादुर गर्बुजा ५४ हजार गरी बेनीमा आयोजित कार्यक्रमबाट ६ लाखभन्दा धेरै आर्थिक संकलन भएको छ । सोही अवसरमा १० हजारभन्दा धेरै सहयोग गर्ने चन्दादातालाई सम्मान समेत गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएकाले समेत आफ्नो क्षमता अनुसार सहयोग गरेको अवस्थामा सबैको विवरण विद्यालयमा राखिने जनाइएको छ । कार्यक्रममा बेनी गलेश्वर समाजकी अध्यक्ष सरिता गर्बुजा, समाजसेवी बम बहादुर पुनले मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनीलाल गर्बुजा, ब्यवस्थापन समितिका सदस्य कृष्ण गर्बुजाको स्वागत र सञ्चालन प्रअ गुन पुनले गरेका थिए । अक्षष कोषमा सहयोग संकलन अभियान जारी छ ।