आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि एक मृगौला पीडितलाई धवलागिरी गाउँपालिका वडा नं ६ मराङस्थीत प्रगति यूवा क्लवले आर्थिक सहयोग गरेको छ । दुवै मृगौलाले काम गर्न छोडेपछि उपचार गराइरहेका मालिका गाउँपालिका वडा नं ६ दरबाङ दुखुका मिलन रोकालाई साविकको मराङ गाविस अन्तरगत पर्ने ६ र ७ वडाका बासिन्दाबाट संकलित ४५ हजार आर्थिक सहयोग पीडित रोकाका भाई नविन रोकालाई क्लवका अध्यक्ष चक्र पुनले हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पुनले संकलित रकमले उपचारमा केही सहज हुने बताउँदै उपचारमा थप आर्थिक आवश्यकता भएकाले सहयोगको अपिल समेत गरेका थिए । पीडित रोकाको उपचार सहित प्रत्यारोपणका लागी धेरै आर्थिक आवश्यकता पर्ने भएकाले पनि परिवारजनले सहयोगको अपिल गरेको हेमन्त गुरुङले बताए । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचारसंगै स्वदेश तथा विदेशबाट समेत सहयोग संकलन भइरहेको छ ।