व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका छन् । उन्नत जातको बीउ र आधुनिक प्रविधितर्फ आकर्षित भएका किसानहरुले मल भने प्राङगारिक नै रोजेका छन् ।  परम्परागत रैथाने बीउबिजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकाले किसानहरू कृषि ज्ञान केन्द्रबाट सिफारिस गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका कृषि प्राविधिकहरुले बताएका छन् ।

खबराका अगुवा किसान चन्द्रबहादुर कार्की रैथाने बीउबिजन, परम्परागत खेती प्रणाली र घरेलु औजार तथा साधनबाट खेती गर्दा किसानको लगानी नै नउठ्ने भएपछि उन्नत जातको बीउ बिजन र प्रविधिप्रति आकर्षित भएको बताउनुहुन्छ ।
परम्परागत तरिकाले स्थानीय जातका तरकारी, अन्नबाली लगाएर बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बीउबिजन र प्रविधितर्फ लाग्नुपरेको उहाँको भनाइ छ ।

‘मैले १७ रोपनी जग्गामा स्थानीय र उन्नत दुवै जातका तरकारी खेती गरेको छु, तर स्थानीयजातको तुलनामा उन्नत जातको बीउको तरिकारीबाट धेरै फाइदा हुने र बजारमा पनि सजिलैसंग विक्ने हुँदा उन्नत जात नै रोज्नुपर्ने बाध्यता रहेको छ’ कार्कीले भन्नुभयो ‘किसानको मेहनत र लगानीका तुलनामा स्थानीय जातको बीउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।’
त्यसैगरी मंगला गाउँपालिकाकी जानकी जैसी पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित हुनुभएको छ ।

छोटो समयमा धेरै उत्पादन लिन सकिने र स्थानीयको तुलनामा फाइदा पनि दोब्बर हुनेहुँदा उन्नत जातको तरकारी नै लगाउने गरेको उहाँले बताउनुभयो ।कार्की र जैसी मात्र होइन म्याग्दीका ६ ओटै स्थानीय तहका ३ सय भन्दा बढी व्यावसायिक कृषकहरुले स्थानीय जातका बीउ बिजन र प्रविधिलाई घटाउँदै उन्नत जात र आधुनिक प्रविधिलाई बढाउँदै लगेका छन् ।

उन्नत जातका बीउ बिजनतर्फ आकर्षित हुँदै गएका यहाँका किसानहरुले मलमा भने प्राङ्गारिक विधि अपनाउने गरेका छन्। रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आउनुका साथै माटोको मौलिक गुणपनि हराउँदै जान थालेपछि किसानहरु सचेत बनेका हुन् ।

जिल्लाको मंगला गाउँपालिकाले त प्राङगारिक मल उद्योग नै संचालन गरेर किसानहरुलाई प्राङ्गारिक मलको प्रयोग गर्न अनवार्य गरेको छ । त्यसका साथै मानवमूत्र संकलन गरेर तरकारी,फलफूल र खाद्यान्न बालीमा प्रयोग गराउन मंगला गाउँपालिकाले अभियान नै संचालन गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । –––