‘हाईड्रो हव’ का रुपमा चर्चित म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ सय ३९ मेगावाट क्षमताका १२ ओटा जलविद्युत आयोजना निर्माण हुने भएका छन् । निर्माणाधिन अवस्थामा रहेका,निर्माणको चरणमा प्रवेश गरेका र विद्युत विभागसंग पिपिए सम्झौता भएका साना ठूला गरी १२ ओटा जलविद्युत आयोजनाहरु निर्माण हुने भएका हुन् ।

ती मध्ये अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, ६ मेगावाट क्षमताको घलेम्दी खोला र सोही गाउँपालिका ६ घारमा १४ मेगावाटको घारखोला गरी ६२ मेगावाट क्षमताका तीनओटा जल विद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमवहादुर पुनले जानकारी दिनुभयो ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमै ३८ मेगावाट क्षमताको निलगिरी प्रथम, ६२ मेगावाटको निलगिरी दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजनाले निर्माणको चरणमा प्रवेश गरी छुट्टै प्रवेश मार्ग निर्माण गरिरहेका नारच्याङका वडाअध्यक्ष चन्द्रप्रसाद फगामीले बताउनुभयो ।

नारच्याङमा नै २० मेगावाट क्षमताको निलगिरी ग्यास्केट र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज पनि निर्माण हुने भएका छन । प्रस्तावित १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनिया कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनीसँग संयुक्त लगानी गर्ने गरी सम्झौतामा भैसकेको वडाअध्यक्ष फगामीले जानकारी दिनुभयो।

उता अन्नपूर्ण गाउँपालिकाको ३ वडा दानामा ४ मेगावाट क्षमताको रुप्सेखोला, ५० मेगावाट क्षमताको मध्य कालीगण्डकी, वडा नं २ तातोपानीमा ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी र वडा नं ६ घारमा ६४ मेगावाट क्षमताको कालीगण्डकी तिप्ल्याङ जलविधुत आयोजना सञ्चालन गर्न विधुत विकास विभागसँग पिपिए भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।