इमानदार ट्याक्सी चालक : जसले आफ्नो ट्याक्सीमा छुटेको ३ लाख ५० हजारको धनमाल फिर्ता गरे

भनिन्छ धन देख्दा महादेवको पनि तीन नेत्र बल्छरे त्यसमा त झन् मानिसलेनै भेट्दा के होला तर कोही अझै पनि यस्ता मानिस भेटिन्छन् जो इमानको कमाइ खान्छन् तर अर्काको भनमा आँखा लगाउँदैनन् । यस्तै भेटिए एक जना ट्याक्सी चालक जसले आफ्नो ट्याक्सीमा छुटेको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सम्बन्धित धनीलाई बुझाएका छन् ।

धरान उपमहानगरपालिका १९ चौकीबारी घर भई हाल भीमसेनगोला बस्ने ३८ वर्षीय ट्याक्सी चालक सिमल राईले उक्त रकम बारबारको धनमाल सम्बन्धित व्यक्तिलाई बुझाएका हुन् ।काठमाडौँ थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया यात्रु वसन्ता भुषालको धनमाल राईको ट्याक्सीमा छुटेको थियो । उक्त धनमाल महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएका हुन् ।

बुधवार बिहान साढे ४ बजे अनामनगरबाट नैकाप जाने क्रममा बा.२.ज. २२७९ नम्बरको राईको ट्याक्सीमा भुषालको सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिँजडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औँठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान छुटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चालक राईले बुझाएको नगद र गरगहना प्रहरीले प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेको छ ।