घरदैलोमै खानेपानी ल्याउन ताकमबासीले १ करोड ४८ लाखको जनश्रमदान गरे

पश्चिम म्याग्दीको जिल्लाको धबलागिरी गाउँपालिका वडा नं ७ ताकमका स्थानीयले आफ्नै घरदैलोमा खानेपानी ल्याउन १ करोड ४८ लाख बराबरको जनश्रमदान गरेका छन् । गाउँघरमा रहेका सार्वजनिक धारा तथा कुवाको प्रयोग गदैं आएका तामकबासीले सरकारी अनुदान बाहेक कठोर जनश्रमदान गरेर कोतखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत घरदैलोमै खानेपानी ल्याउन सफल भएका हुन् ।

नेपाल र फिनल्याण्ड सरकार, धवलागिरी गाउँपालिकाको वडा कार्यालय र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा स्थानीयले आफ्नो घरायसी कामलाई समेत छोडेर गाउँबाट करिव ३ किलोमिटर टाढा अवस्थित कोठखोलाबाट खानेपानी ल्याउन फिनल्याण्ड सरकारबाट ९५ लाख ११ हजार, धवलागिरी गापा वडा नं ७ बाट १६ लाख ७ हजार, भारतीय दुतावासमार्फत ६५ लाख ६७ हजार बराबरको पाइप बाहेक अन्य खर्च स्थानीयले गरेको उपभोक्ता समितिका कोषाध्यक्ष गोपाल आचार्यले बेनीअनलाइ्रनलाई बताए ।

‘समुदायबाटै ठूलो लगानी भएको छ,‘भविस्यमा पनि मर्मत कोषलाई प्राथमिकता दिनेछौ’ आचार्यले भने । परियोजनाको सुरुवातमा करिब ९० लाखको जनश्रमदान अनुमान गरिएपनि निर्माणको क्रममा बजेट अपुग भएपछि स्थानीयले थप जनश्रमदान गरेका थिए ।

साविकको ताकम गाविस वडा नं ३, ४, ५ र ६ वडाका ३ सय ३६ घरधुरी मध्ये काफलडाँडाका २९ घरधुरीमा बालमैत्री सहित २९ धारा जडान गरिएको छ । घरदैलोमै खानेपानीको धारा जडान भएपछि स्थानीय उत्साहित भएका छन् । खानेपानी विस्तारकै क्रममा स्थानीय तुलबहादुर थापाले ज्यान समेत गुमाएका थिए ।

यसैबीच बुधबार खानेपानी परियोजनाको आम्दानी खर्च सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले खानेपानीको अभावलाई पुरा गर्न स्थानीयले सरकारी बजेट बाहेक गरेको जनश्रमदानबाट उत्साहित भएको बताईन् ।

उनले गाउँपालिका भित्र जनताको समस्यालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउँदै भौगोलिक रुपमा विकट भएकाले पनि बजेटको अपुगले समस्या भइरहेको बताईन् । कार्यक्रममा वडा अध्यक्ष कलानिधी शर्माले वडाबासीको सक्रियतामा गाउँमा खानेपानी परियोजना ल्याउन सफल भएको बताए । कार्यक्रममा पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाका प्राविधिक सहजकर्ता इन्द्र चन्द्र, समाजसेवी मनबहादुर भण्डारीले मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता देब बहादुर थापा, स्वागत ऋषिराम सुबेदी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपाल आचार्य र सञ्चालन तेजेन्द्र थापाले गरेका थिए ।