ब्याडमन्टिन खेल्न ११ जिल्लाका खेलाडी म्याग्दीमा

बिहिबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा चारदिनसम्म सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय ब्याडमन्टिन खेलमा सहभागी हुन ११ जिल्लाका खेलाडी म्याग्दीमा आएका छन् । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमन्टिन खेल अन्तरगतका विभिन्न विधामा सहभागी हुन महिला र पुरुष गरी ६८ जना खेलाडी बुधबार साँझसम्म बेनीमा आइपुगेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिता अन्तरगत आइतबारसम्म सञ्चालन हुने खेलको बिहिबार विहान गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । उनका अनुसार ब्याडमिन्टन खेलको छनौटको जिम्मा म्याग्दीले पाएपछि उद्घाटन सहित समापन सम्म कुनैपनि कमी हुन नदिने बताए । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिताका उद्घाटन सत्रमा जिल्लाक सरकारी अधिकारी सहित, जनप्रतिनिधि, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ , लगाएत खेलकुद क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहने बताइएको छ ।