गण्डकी प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले एथ्लेटिक्स तर्फ १८ वटा पदक जितेको छ । ८ औ राष्ट्रिय खेलकुदलाई लक्षित गरी पोखरा रंगशालामा आयोजित प्रतियोगितामा आइतबारसम्म सम्पन्न भएको एथ्लेटिक्स अन्तरगतका विभिन्न खेलमा म्याग्दीबाट सहभागी भएका खेलाडीले रजत सहित १८ पदक जित्न सफल भएका हुन् ।

पोखरामा सम्पन्न प्रतियोगितामा विजेतालाई बिहिबार जिल्ला खेलकुद विकास समितिमा सम्मान समेत गरिएको छ । प्रतियोगितामा सोनीया बरुवालले २१ हजार मिटर, १० हजार मिटरमा रजत र चार इन्टु ४ सय रिले दौडमा काँस्य पदक जितेकी थिईन् । प्रतियोगितामा लम्जममा इश्वर शेञ्चुरीले रजत जिते । प्रतियोगिताअवधिभर सेञ्चुरीले एकल तथा समुहको खेलमा म्याग्दीबाट सहभागी भएकोमा धेरै पदक जित्नेमा परेका छन् ।

त्यस्तै १ सय मिटर दौडमै सुजन छिनालले काँस्य, ४ सय मिटरमा इश्वर शेञ्चुरी काँस्य र एक सय इन्टु ४ सय र चार इन्टु चारसय मिटर रिलेमा शुसिल श्रेष्ठ, सुजन छिनाल, इश्वर शेञ्चुरी र प्रदिप छन्त्यालले कास्य जितेका छन् । चार इन्टु चारसयमा सोनिया बरुवाल, अकिता पुन, झरना गुरुङ र निसु बानियाँको समुहले काँस्य पदक जितेको हो । प्रतियोगितामा २१ ह्जार मिटरमा सन्तोष खत्रीले रजत र ४ सय मिटरमा इश्वर शेञ्चुरीले कास्य पदक जितेको प्रशिक्षक विनोद घर्ती क्षेत्रीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार प्रतियोगितामा रजत पदक विजेतालाई राष्टिय खेलका लागी अभ्यासमा बोलाउने बताइएको छ । राष्ट्रिय खेलकुदमा सहभागी हुन म्याग्दीबाट छात्रछात्रा भलिबल, फुटबल, ब्याटमेन्टिन कराँते, टेक्वान्डो,बास्केटबल, टेबलटेनिज,उसु लगाएतका खेलमा सहभागि हुने  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए। खेलाडी सम्मान कार्यक्रममा गण्डकी प्रदेश सांसद विनोद केसी, जिसस प्रमुख देबेन्द्र बहादुर कुटवाल, प्रजिअ लीलाधर अधिकारी लगाएतको उपस्थिती रहेको थियो । गण्डकी प्रदेशको खेलमा पदक जितेका खेलाडी प्रदेशबाट राष्ट्रिय खेलमा सहभागिता जनाउने छन्् । यसैबीच म्याग्दीमा बिहिबारदेखि ब्याडमेन्टिनको खेल सुरु भएको छ भने टेक्वान्डोको प्रदेशस्तरीय खेल समेत म्याग्दीमै हुनेछ ।