म्याग्दीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ । प्रदेश नम्बर ५ मा आयोजना हुने आठांै राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गदैं गण्डकी प्रदेश सांसद विनोद केसीले प्रदेशभित्रका हरेक जिल्लामा मिनी रंगाशालाको अवधारणलाई अनुसार पूर्वाधार विस्तार गरिने बताए ।

‘खेलकुदको विकासमा पूर्वाधारको पनि महत्वपूर्ण भूमिका हुन्छ,‘खेलकुदमा बजेटलाई प्राथमिकता दिन निरन्तर दवाव दिइरहेको छु’ केसीले भने ।उनका अनुसार आसन्न राष्ट्रिय खेलकुदको उपाधी जित्न गण्डकी प्रदेशभित्र भइरहेका अभ्यास तथा छनौट खेलललाई समेत प्रदेश सरकारबाट सहयोग मिल्ने बताए । उनले हरेक विधाका खेलमा प्रदेशलाई अब्बल बनाउन खेलकुद विकास समिति तथा स्थानीय तहसम्म खेल प्रतिभाको पहिचान आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडीलाई प्रयाप्त प्रशिक्षण सहित खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सकिएमा सातवटै प्रदेशमा गण्डकीले खेलकुदमा सजिलै उछिन्न सक्ने बताएका थिए । फुटबल, भलिबल, मार्सल आट, ब्याडमिन्टन सहितका खेल विधामा गण्डकी प्रदेशभित्रका खेलाडीलाई प्रयाप्त प्रशिक्षणको अभाव भएकाले खेलाडीले ब्यक्तिगत लगानीमै प्रशिक्षण लिनुपर्ने अवस्था रहेको बताइएको थियो ।

गण्डकी प्रदेशका ११ जिल्लाका ५८ खेलाडी सहभागिता रहेको प्रतियोगितामा पुरुष ३८ महिला २० जना खेलाडीले रहेका छन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापनमा सञ्चालित प्रतियोगिताबाट ६ पुरुष र ४ महिला खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । उद्घाटन समारोहको अवसरमा पूर्व खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका सांसद विनोद केसी र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।