बेनी कालिपुल बसपार्कमा अलपत्र भेटिएकी पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानकी एक बृद्धाको उद्धार गरिएको छ । पोखराबाट बेनी आउँदै गरेको अवस्थामा कालिपुल बसपार्कमा बेवारिसे अवस्थामा भेटिएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि बेनीमा रहेका देविस्थानबासीहरुको पहलमा दर्शन बुढाथोकीको उद्धार गरिएको देविस्थान बेनी सम्पर्क समितिका सन्दिप विकले बताए ।

उनका अनुसार बृद्धाको स्वास्थ्यमा समस्या देखिएकाले पनि नियमित उपचारमा सहयोगको आवश्यकता रहेको बताए ।
बृद्धालाई बसपार्कमा आफन्त खोजीरहेको अवस्थामा भेटेपछि जिल्ला खेलकुद विकास समितिकी कार्यसमिति सदस्य चन्द्रा घले गुरुङले आफ्नै घरमा ल्याएर राखेकी थिईन् । शुक्रबार विहान देविस्थान –बेनी सम्पर्क समितिका अध्यक्ष सुबेदार दिलबहादुर पुनले समितिमार्फत यातायात सहितको खर्च जुटाएर घरमा पठाएका थिए ।

बृद्धाको हातमा चोट लागेकाले पनि केहीदिन पछि थप उपचारका लागि बेनी ल्याउनुपर्ने अवस्था रहेको छ । बृद्धाको उपचार तथा घरायसी खर्चको अभाव भएकाले पनि सहयोगको अपिल गरिएको छ । ‘तत्काल घरमै जान्छु भन्नुभएकाले लगेका छौ,‘उपचारका लागि फेरी बेनी ल्याउनुपर्छ’ पुनले भने । पोखरा आफन्तबाट बसमा फर्किएकी बृद्धा अलपत्र परेपछि खोजीकार्य सहित सहयोगको समेत प्रतिबद्धता आएको देविस्थान बेनी समितिले जनाएको छ । यसैबीच अलपत्र बृद्धाको उद्धारमा सहयोगी भूमिका खेल्ने सम्पूर्णलाई समितिले धन्यवाद दिएको छ ।