एकै रातमा दर्जनभन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशमा विभिन्न स्थानमा रहेका एनसेल टावरमा विस्फोट र आजगनी गरेको हो ।

कहाँ-कहाँ भयाे विस्फोट र आगजनी ?

काभ्रे

काठमाडौँ नजिकैको काभ्रेकाे कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको छ । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

पाेखरा

शुक्रबार राति पाेखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरीकाे अनुसार टावर जलेर नष्ट भएको छ ।

रौतहट

रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।

कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ ।टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।निरीक्षक रमेशदत्त अवस्थीका अनुसार आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।

बागलुङ

शुक्रबार राति नै बागलुङमा रहेका तीन एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो ।

नवलपरासी

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

रुपन्देही

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।एनसेलकाे टावरमा कसले र किन विस्फाेट र आगजनी गर्याे भनेर अहिलेसम्म खुलेके छैन ।विप्लव नेतृत्वको नेकपालाई आशंका गरिकाे छ । तर अहिलेसम्म घटनाकाे जिम्मेवारी लिएकाे छैन ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दर्जन भन्दा बढी जिल्लामा रहेका एनसेलका टावरमा आगजनी र बम आक्रमण गरेकाे थियाे ।यसैबीच काठमाडौंको कमलपोखरीस्थित आँगन स्वीट्समा पनि शुक्रबार साँझ प्रेसर कुकर बम फेला परेको थियाे । कालो झोलामा राखिएको अवस्थामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।