विवाहको लगन भएका महिनामा पाँच सय जोडीसम्मले बागलुङ कालिका मन्दिरमा विवाह गर्छन् । मन्दिरमा विवाह गर्दा एक–दुईजना साथी लिएर आएकादेखि दुईजना मात्र आएर गर्ने पनि हुन्छन् । यसरी आएका कसरी आएका हुन्, यसअघि विवाह भएका हुन् वा होइनन् थाहा नभएपछि कालिका भगवती गुठी व्यवस्थापन समितिले विवाहमा कडाइ गरेको छ ।

विवाहका लागि आएका जोडीले कम्तीमा अभिभावक र विवाह नभएको कुनै प्रमाण ल्याउन भनेको हो । ‘मन्दिरमा आएर विवाह गर्न भन्दै छुट दिँदा कुनै अपराधमा संलग्न, बहुविवाह गर्ने र उमेर नपुगेकाहरू परेको अनुमान गरियो’ समितिका अध्यक्ष राजु खडकाले भने, ‘मन्दिरमा विवाह गरेको प्रमाणसमेत नराखेकाले नाटक मात्र गर्न सक्ने खतरासमेत बढेको छ ।’ यसरी आएकाहरूमा धेरैले उमेर नपुगेरै विवाह गरेको भेटिएको उनले बताए ।

नेपालको कानुनले २० वर्ष पुगेपछि मात्र विवाह गर्न योग्य मानेको छ ।  मन्दिरमा आएको निहुँ पारेर अधिकांशले बहुविवाह गरेको भेटिएको समेत उनले बताए । मंसिर, माघ, फागुन, वैशाखलगायतका महिनामा मन्दिरमा ५ सयवटासम्म विवाह हुने गरेको रेकर्ड छ । विवाहका लागि आएकाहरूले आसपासमा बसेका पण्डितबोलाउने गर्छन् ।

बालविवाह बढेपछि तमानखोला गाउँपालिकाले भने कानुनी रूपमै हटाउने अभियान थालेको छ । गाउँपालिकाले डकुमेन्ट्री समेत बनाएको अध्यक्ष जोकलाल बुढाले बताए । गाउँपालिकाले बालविवाह भएमा बदर गर्ने नीतिसमेत लिएको हो । विद्यालय तहमा पनि चेतना विकासका अभियान चलाउन शिक्षकलाई प्रशिक्षण दिइएको छ । बालविवाहबाट खुंखानी, बुंगादोभान, खुंगालगायतका गाउँमा धेरै समस्या आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।विवाह भएपछि पढाइ छाड्ने क्रम सबै विद्यालयमा रोग बनेकोशिक्षक बताउँछन् । कान्तिपुर दैनिक