म्याग्दीका तीन गाउँपालिकाले गाउँसभाबाट बहुमतले पारित गरी प्रदेशमार्फत सिफारिस भए बमोजिम नै गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले म्याग्दी जिल्लाको धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धि गरिएको प्रस्ताव अनुसार गाउँपालिकाको परिवर्तन गरेको जनाएको छ।

देशभरका विभिन्न जिल्लाका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने क्रममा रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीबाट मौवाफाँट, धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट सातमुले घट्टेखोला, अन्नपूर्ण गाउँपालिकाको केन्द्र घारबाट पोखरेबगर तोकिएको छ । केन्द्र परिवर्तनका लागि विगतमा भइरहेका प्रयासहरु मन्त्रालयको सार्वजनिक गरेको विवरणसंगै टुगिएको छ ।

म्याग्दीमा रघुगंगा र धवलागिरी गाउँपालिकामा केन्द्रको विवाद हुने गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँ, नगरसभा र प्रदेशमार्फत सिफारिस भएबमोजिम स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएकाले केन्द्र र नामका विषयमा भइरहेका विवादलाई टुगो लगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।राजपत्रमा प्रकाशित भएसकेको अवस्थामा पनि फाटफुट विवाद हुदाँ विकास निर्माण सहितका अभियानमा केही समस्या हुने गरेको अवस्थामा मन्त्रालयले अन्तिम टंगो लगाएर देशभरको विवरण सार्वजनिक गरेको थियो ।

यसैबीच छिमेकी पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँटबाट लामाखेत, मोदी गाउँपालिकाको केन्द्र देउपुरबाट पातीचौर बजार तोकिएको छ भने मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको नाम बारागुङ मुक्तिक्षेत्र र दालोमे गाउँपालिकाको नाम लोघेकर दामोदरकुण्ड बनाइएको छ। मन्त्रालयले प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको थियो ।