साइबर सुरक्षासम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा रहेको पत्ता लागेको छ ।थ्रेटनिक्स रिपोर्ट दिइएको प्रतिवेदनमा सन् २०१८ भर नेपालको सूचना प्रविधि क्षेत्रमा भएको सुरक्षा चुनौती औंल्याइएको छ । प्रतिवेदनका अनुसार डट एनपी डोमेनको आधारमा निर्माण गरिएका ८ हजार ३ सय बढी इमेलका पासवर्डको डाटासेट डाउनलोड गर्न मिल्ने गरी इन्टरनेटमा भेटिन्छन् ।

तीमध्ये अधिकांशको पासवर्ड एक दुई तीन चार पाँच, पास वर्ड वान, एबीसीडी, इमेल ठेगानामा भएको नाम, मोबाइल नम्बर वा आफ्नो ठेगाना राखिएका छन्, अनुसन्धानमा संलग्न सुयश नेपालले भने, हामीले सम्बन्धित बैंकहरूलाई उनीहरूको सुरक्षा कमजोरीको विषयमा जानकारी गराएका छौं ।

विशेषगरी संस्थागत इमेलहरूमा पासवर्ड कमजोर राख्ने प्रवृत्ति रहेको भेटिएको उनले बताए । इन्टरनेटमा भेटिएको इमेल र तीनका पासवर्डमध्ये तीन हजार बढी नेपाल बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित छन् । तीमध्ये १ हजार ८० वटा इमेल र पासवर्ड डट एनपी डोमेनको आधारमा तयार पारिएका र बाँकी २ हजार २ सय १७ वटा पासवर्ड डट कम डोमेनको आधारमा तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

थ्रेटनिक्सको प्रतिवेदनमा बैंक तथा वित्तीय क्षेत्रको मात्र नभई सरकारी वेबसाइटमा संकलन भएका इमेलका पासवर्डहरू पनि सार्वजनिक भएको औंल्याइएको छ । अध्ययनको क्रममा सरकारी वेबसाइटमा संकलन भएका १० हजार १ सय बढी इमेल ठेगानाको विश्लेषण गर्दा तीमध्ये १ हजार १६ वटा इमेलको पासवर्डसहितको विवरण यसअघि नै चोरिइसकेको पाइएको छ । यो सममाचार आजको कान्तिपुर दैनिकमा छ ।