जिल्ला सदरमुकाम बेनीमा जारी गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिताको छनौटको पहिलो दिन म्याग्दीका तीन खेलाडी फाइनलमा प्रवेश गरेका छन् । प्रदेश नम्बर ५ मा आयोजना हुने आठांै राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट सहभागिता हुने खेलाडीको छनौटमा ४६ केजीमा रश्मी श्रेष्ठ, ६७ केजीमा ममता गर्बुजा र ८० केजीमा सुरेन्द्र बर्देवा फाइनलमा प्रवेश गरेको खेलाडी एवम् प्रशिक्षक राजकुमार परियारले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार प्रतियोगितामा म्याग्दीबाट राष्ट्रिय खेलका लागि छनौटका लागी नियमित अभ्यास समेत गरिएकाले छनौट सहित स्वर्ण पदकको धेरै सम्भावना रहेको बताए । म्याग्दीमा मार्सलआट खेल अन्तरगत विगतमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा खेलाडीले प्रतिनिधित्व गरेका थिए । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय खेलको ब्याटमेन्टिन र टेक्वान्डोको छनौट खेल परेको थियो ।

८ जिल्लाका २ सय जना खेलाडी सहभागिता रहेका छन् । पुरुषको ५४ केजी देखि ८० केजी माथि समुह र महिलाको ४६ केजीदेखि ७४ केजी समुहको प्रतिस्पर्धा हुने छ । प्रतियोगिताबाट महिला र पुरुष गरी २२ जना छनोट गरिने छ । ११ जना पुरुष र ११ जना महिला खेलाडी छनोट गरिने छ । प्रतियोगिताको उद्घाटनसत्र अगाडी पञ्चेबाजा सहित बेनीबजार परिक्रममा गरिएको थियो ।