आठौं राष्ट्रिय खेलकुदका लागि उसु प्रतियोगिताको प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीका सुशिलकुमार श्रेष्ठ ५६–६० तौल समुहबाट राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । प्रतियोगिताको छनौट खेलमा गण्डकी प्रदेशबाट सहभागि भएका बेनी नगरपालिका वडा नं ८ गणेशटोलका श्रेष्ठले स्वर्ण पदक जित्दै प्रदेश नं ७ मा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने उसु संघ म्याग्दीका उपाध्यक्ष अमृत बास्कुनेले बेनीअनलाइनलाई बताए ।

‘म्याग्दीबाट थप पदकको सम्भावना छ,‘यसपटक प्रयाप्त अभ्यास गरिएकाले पदकको सम्भावना धेरै छ’ उनले भने।  गण्डकी प्रदेशको तर्फबाट सहभागी हुने गरी म्याग्दीबाट ७ जना खेलाडीले सहभागिता जनाएका छन् । चितवनमा प्रदेश नं १, २ र ३ का साथै गण्डकी प्रदेशका खेलाडीको छनौट खेल भइरहेको छ । म्याग्दीबाट छनौट खेलमा सहभागी भएका खेलाडीहरु मध्ये यसअगाडी प्रदेशस्तरीय खेलमा स्वर्ण पदक तथा जिल्लामा सम्पन्न भएको बेनी नगरपालिकास्तरीय उसुुमा समेत स्वर्ण विजेता समेत भएकाले म्याग्दीका कुनैपनि खेलाडी पदकविहिन हुनुनपर्ने संघको दावी छ ।

यता छनौट भएका श्रेष्ठले राष्ट्रिय खेलकुदमा समेत प्रदेशका लागी पदक दिलाउने गरी थप अभ्यास गर्ने बताए । उनले प्रशिक्षकको नियमित हौसला तथा अभ्यासका साथै आफ्नो क्षमताले भ्याएसम्म खेलबाट उत्कृष्ट प्रर्दशन गर्ने बताए । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध खेलाडीहरु मध्ये राष्ट्रिय खेलकुदका लागि छानिएका खेलाडीहरुलाई जिल्लाका उसु खेलाडीका साथै एक जना टिमकोच र एक जना टिम म्यानेजर चितवनमा छन् ।