समुन्द्री सतहदेखि करिव ३३ सय मिटरको उचाईमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल मालिका मन्दिर सडक सञ्जालले जोडिने भएको छ । मालिका गाउँपालिका वडा नं ७ बिमबाङ हुदै करिव ८ किलोमिटरको कच्ची सडक निर्माणकार्यले तिब्रता पाएको हो । गाउँपालिकाको गौरवको योजनामा समेत रहेको सडक विस्तरका लागि ४० लाख बजेट विनियोजन भएको वडा अध्यक्ष सुविन जुग्जालीले बताए ।

‘सडक र पदमार्गले मालिका जोड्नेछौ,‘सडकले पर्यटकलाई आवतजावतमा सहज हुन्छ’ जुग्जालीलले भने । बिम र दरबाङ दुखुबासीको संगमस्थल भनेर चिनिने नालीथैलासम्म सडक सञ्जालले जोडिनेछ । सडक सञ्जाललाई दिगो बनाउन समितिले स्थलगत रुपमै अनुगमन समेत भइरहेको उपभोक्ता समितिका अध्यक्ष रबीप्रसाद जुग्जालीको भनाई छ । मालिकाधुरीमै सडक सञ्जाल नजोड्ने योजना अन्तरगत करिब एक घण्टाको पैदलयात्रा गर्ने गरी पदमार्ग निर्माणका लागि समेत पहल भइरहेको छ । पदमार्ग र सडक सञ्जालको विस्तारसंगै मालिका जाने पर्यटकलाई बिम हुदै आर्कषित गर्ने योजनामा स्थानीय रहेका छन् ।

मालिकाधुरीलाई म्याग्दीको सदरमुकाम बेनी हुदै पुलाआश्रम, जगन्नाथ मन्दिर, टोड्के हुदै पदमार्गले समेत जोड्ने योजना रहेको छ । धौलागिरी बेसक्याम जोड्ने बैकल्पिक पदमार्गको रुपमा बेनीदेखि मालिका हुदै विम, मुदीको महत्वकाँक्षी योजना समेत रहेको छ । मालिका र रघुगंगा गाउँपालिकाको पाखापानीको सिमानमा अवस्थित आर्कषक पर्यटकीय तथा धार्मिक गन्तब्यका रुपमा चिनिएको मन्दिर भ्यू टावर बनाउने योजना समेत रहेको छ ।

मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वासका साथ सयौं वर्षदेखि पुजा हुँदै आइरहेको मन्दिरमा पुगेका भक्तजनहरूको विस्वास अनुसार कम्तिमा तिन पटक त्यहाँ पुगेर मालिका मन्दिरको दर्शन गरेमा मनोकामना पनि पुरा भक्तजनको भनाई छ । मन्दिर आसपासको क्षेत्रबाट देखिने घना जंगल, बन्यजन्तु, हिमश्रंखलाका साथै कास्कीको फेवाताल सहित आसपासका दृष्यले धार्मिक तथा पदमार्गमा जाने पर्यटकलाई लोभाउने गरेको छ ।