बेनी नगरपालिका–७, संगमचोक निवासी पिता अजयमिलन श्रेष्ठ र माता सृजना श्रेष्ठको कोखबाट २०६१ साल फाल्गुण १६ गते जन्मिएका अनुपम श्रेष्ठ फुटबल भनेपछि हुरुक्कै हुन्छन् । हुनत गीत÷सङ्गीत, नृत्य तथा वाद्यवादनमा पनि उत्तिकै रुचि राख्छन् तर उनलाई मनपर्ने मूख्य विधा भनेको खेल क्षेत्र नै हो । त्यसमा पनि फुटबल उनलाई अत्यन्त्यै पन पर्ने खेल हो भने क्रिश्चियानो रोनाल्डो उनलाई अत्याधिक मनपर्ने खेलाडी हुन् । त्यसैलेत उनले आफू खेल्ने हरेक खेलहरुमा ७ नम्बरको जर्सी लगाउने गर्दछन् ।

बेनी बोर्डिङ् स्कुल बेनीमा कक्षा–८ मा अध्ययन गर्ने उनको लक्ष्य भनेको भविष्यमा गएर सफल फुटबल खेलाडी बन्नू नै हो। हुने बिरुवाको चिल्लो पात भने झैं उनमा सानैदेखि फुटबलप्रति रुचि बढ्दै गयो । बेनी बजारको खुल्ला मञ्चमा कुनैपनि फुटबलको खेल हुँदैगर्दा उनले अहिलेसम्मका कुनैपनि खेल नछुटाई हेर्ने गरेका छन् । यतिसम्म कि खेल हेर्न बिहान निस्केका उनलाई खाना तथा खाजा उहीँ पु–याउनुपर्ने अवस्थाले फुटबल खेलप्रति उनको आस्था कति छ भन्ने प्रष्ट थाहा पाउन सकिन्छ ।

खेल शुरु भएको ५÷७ मिनेटमै कसले कति गोल गर्न सक्छ र अहिलेको खेल कुन समूहले जित्छ भन्ने कुरा सजिलै अनुमान लगाउन सक्नुले कतिलेत उनलाई वाल खेल विश्लेषक तथा समीक्षकको रुपमा समेत चिन्छन् ।
कक्षा–४मा अध्ययन गदैगर्दा म्याग्दी एकेडेमी सिंगाले आयोजना गरेको प्रा.वि. स्तरको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा सहभागी भै दोस्रो स्थान प्राप्त गर्न सफल भएदेखि अहिलेसम्म आफू सहभागी भएका खेलहरुमा सफलता प्राप्त गरिरहेका छन् ।

२०७४ असोजदेखि माघसम्म पोखरामा भएको फन रुट्स एकेडेमी जापानद्धारा आयोजना गरिएको (ग्–१२ कोपा पुमा टोरेरस अन्तराष्ट्रिय बाल फुटबल प्रतियोगिताका लागि) खेलमा विभिन्न चरणहरु पार गरेर प्रथम रोजाइको स्टाइकरमा छनोट हुन सफल भए । २०७४ कै माघदेखि चैत्रसम्म पोखराको रङ्गशालामा भएको प्रशिक्षण खेलमा प्रशिक्षक राजेन्द्र तामाङ र शम्भु के.सी.को मूख्य रोजाइमा परे ।

२०७४ चैत्र १४ देखि २० सम्म जापानमा भएको प्रतियोगितामा नेपाली टोलीको टिम क्याप्टेनका रुपमा सहभागी भए भने प्रतियोगिताको अवधिभर खेलिएका प्रतियोगितात्मक खेलहरुमा कुल २८ गोल मध्ये उनी एक्लैले ११ गोल र सो म्याचमा ११ गोल गरि २४ गोल गर्न सफल भए । ४० टिम सहभागी उक्त अन्तराष्ट्रिय खेलमा पाँचौ स्थान प्राप्त गर्न सफल भई ‘वेष्ट प्लेयर’को उपाधि जिते । २०७५ सालको असोज २३ देखि २७ सम्म भएको चौथो एभरग्रीन कप प्रतियोगितामा प्रथम हुन सफल भएका उनले आयोजकको तर्फबाट सिनियर टिममा पनि छनोट हुनपुगे।

२०७५ मङ्सीर १० देखि १५ सम्म भएको सत्रौं म्याग्दी जेसीज कपमा बेनी बोर्डिङ् स्कुलबाट सहभागी भएर जेसीज कप फुटबलको इतिहासमै पहिलो साइक्लिङ्ग गोल गर्न सफल उनी २०७५ माघ ९ देखि १२ सम्मको आठौं बेनी बोर्डिङ् कप जुनियर रेडक्रस कप) फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्दै हाइजेष्ट स्कोर अवार्ड प्राप्त गर्न सफल भए ।

उनको खेल प्रतिको लगाव र सफलताको प्रोत्साहन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दी, बेनी बोर्डिङ स्कुल बेनी, लोकतान्त्रिक खेलकुद सङ्घ म्याग्दी, दिदी बहिनी वचत तथा ऋण सहकारी संस्था बेनी, नेपाल महिला सङ्घ म्याग्दी, नेपाल भाषा मंकाः खलः म्याग्दी, एभरग्रीन युथ क्लव बेनीले समेत सम्मान गरेको छ । आफ्नो जन्मदिनमा साथीहरुले उपहार दिँदा फुटवल अथवा फुटबल सुजको अपेक्षा गर्ने अनुपम आफ्ना अङ्कलहरुबाट पनि अहिलेसम्म उपहार फुटबल नै प्राप्त गरेका छन् ।

आजका यी कोपिला भोलिका सुगन्धित फूलहरु हुन्, यस्ता कोपिलाहरुलाई संरक्षण गर्नु समाज अनि सिंगो राष्ट्रको दायित्व पनि हुन आउँछ । आफ्नो खेलमा सम्पूर्ण परिवारको साथ र समर्थन पाएका उनले खेल क्षेत्रमा आफूले सोचे जस्तै अझ धेरै प्रगति गर्न सकुन्, हार्दिक शुभकामना । घायल श्री÷ म्याग्दी संचार साप्ताहिक