मध्य फागुनमा लाग्दै गर्दा दिनै घमाईलो विहानी । दिउँसो घामसंगै जाडोयामलाई विदाई गदैं गरेका सर्वसाधारणले एक्कासी मौसम बदली भई बादलले डम्मै आकाश ढाकेसंगै बुधबार विहान एक्कासी मुसलधारे बर्षासंगै जिल्लाको अधिकांस क्षेत्रमा हिमपात भएसंगै जनजीवन प्रभावित भएको छ । चिसोबाट गर्मी मौसमलाई स्वागत गदैं जाडोयामा प्रयोग गरिएका लुगाफाटा समेत थन्काउने तयारीमा रहेका सर्वसाधारणले एक्कासी घरआगनमै बाख्लो हिमपात भएपछि दंग परेका छन् ।

‘पुसमाघमा जस्तै बाख्लो हिमपात भएको छ,‘अचानक हिमपात हुदाँ अलमलमा परियो’ धवलागिरी गाउँपालिका वडा नं १ गूर्जाका अध्यक्ष एवम् प्रबक्ता झकबहादुर छन्त्यालले भने ।उनका अनुसार गाउँपालिकाका सबै वडामा बर्षासंगै हिमपात भएको छ । मेलमिलाप तालिममा सहभागि हुन आएका जनप्रतिनिधिले समेत आफ्नो क्षेत्रमा बाख्लो हिमपात भएको बताएका छन्त्यालले बताए । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रहरुमा पुनः तेस्रोपटक हिमपात भएपछि खेतीपातिमा समेत नकारात्मक असर गरेको स्थानीयको भनाई छ ।

समान्य बर्षाको समेत कल्पना नगरेका जिल्लाको तल्लो भेगमा मध्य फागुनमा समेत घरआगनमै हिउँ परेपछि थप समस्या भएको बताउँछन् । ‘बाख्लो हिउँ परेको छ,‘ गर्मी मौसममा हिउँपरेपछि गाउँले अचम्ममा परेका छन्’ अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे नागीस्थिती हिमाञ्चल माविका शिक्षक किसन पुनले भने । उनका अनुसार नागीको घर हिउँले सेताम्ये भएको र हिमपात जारी रहेको बताए ।

मंगलबार राती जिल्लाको केही भागमा मेघ गर्जनसहित मुसलधारे पानी परेको थियोे । बर्षा रोकिएको छैन् ।गत महिनाको माघको दोस्रो र तेस्रो साता परेको हिउँ पग्लिन नपाउँदै हिमपात भएपछि हिमाली क्षेत्रका सर्वसाधरणलाई निकै सकस भएको छ । हिमपात र अत्यधिक चिसोका कारण धाराको पानी समेत जमेको छ । हिमपातलगत्तै दिउँसो मौसम सफा हुदाँ बनजंगल चाँदी जस्तै टल्किएका छन् । वस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ ।

हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर निस्कन, शौचालय जान र वस्तुभाउलाई घाँसपानी र कुँडोभाँडो खुवाउनै समस्या भएको उपल्लो क्षेत्रमा पर्ने गूर्जा, मुदी, मल्कबाङ, कुईनेमङ्गले, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा लगायतका क्षेत्रमा बिहीबारदेखि नै हिमपात भए पनि बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, डडुवाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित पर्यटकीयस्थल पर्यटकीयस्थल टोड्केमा हिउँ जमेको राष्ट्रिय जनजागृति माविका प्रधानध्यापक टेक राम्जालीले बताए । जिल्लाको उच्च भेगहरुमा २ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो वस्तीका अधिकांश ठाउँहरुमा झण्डै १ फिटसम्म हिउँ जमेको छ ।यसैबीच बर्षासंगै हिमपातले जिल्लाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने देखिएको छ । ग्रामिण क्षेत्रमा पदैलमार्ग बर्षाले हिलाम्मे भएको छ भने अधिकांस मार्गमा हिउँ समेत परेकाले पनि बालबालिकालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।