बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेलमैदान निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र बाँकी श्रमदान गरेर प्याराफिट सहितको खेल मैदान निर्माण गरेका हुन् ।

युवाहरुले संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष गाउँमा शिवरात्री मेलाको आयोजना गर्दै आएका छन् । यस वर्षपनि फागुन १७ गतेदेखि विशाल शिवरात्री मेलाको आयोजना गरिएको लेखसाइड युवा क्लव सानालेखका उपाध्यक्ष धु्रब थापाले जानकारी दिनुभयो ।उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार पाँच दिनसम्म संचालन हुने उक्त मेलामा रत्यौलीगीतप्रतियोगिता,भजन,छेलो,लठो तान्ने,खुल्ला भलिवल लगाएतका प्रतियोगिताहरु आयोजना गरिएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट करिब ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको उपाध्यक्ष थापाले बताउनुभयो । ‘आफ्नो गाउँमा संस्कृति संरक्षणका लागि मेलाको आयोजना गरिएको खुसीमा देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट स्वतस्फुर्तरुपमा उल्लेख्य सहयोग प्राप्त भएको छ’ उपाध्यक्ष थापाले भन्नुभयो ‘यसबाट हामीलाई झन हौंसला मिलेको छ ।’ मेलाको फागुन १७ गते शुक्रवार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।–––