डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई प्रदेश नं ३ सरकारले कारवाही गर्ने भएको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले आफैँ डोजर किन्दै ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाहीे गरिने बताए । “जनताको काम गर्न आउनुभएका जनप्रतिनिधिले आफैले डोजर किन्दै ठेकेदारी गर्नु गलत हो ।

कोही पहिले नै ठेकेदार रहेछन् भने पनि जनप्रतिनिधि भएपछि पुरानो पेशा छोड्नुपर्छ”, विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भने “जनप्रतिनिधि भएर ठेकेदारी गर्न नपाउने भएका कारण आगामी दिनमा पनि यस्तो गर्नेलाई प्रदेश सरकारले अब हटाएर छाड्छ ।”मुख्यमन्त्री पौडेलले ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुखसमेत क्रियाशील भएको पाइएको बताए । -रासस