गरिबीका कारण फुसको छानामा ओत लाग्न बाध्य म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तान दोसल्ले भर्मलोका धनु पुनको फुस र परालको छानो फरिदैछ । चरम गरिबीकै कारण दैनिक ज्यालामजदुरी गरेको कमाईले विहानबेलुकी पेट पाल्न समेत मुस्किल हुने पुनको अवस्थाका बारेमा जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले घरमै पुगेर ब्यक्तिगत रुपमा छानो फेर्न सहयोग गरे । बर्खा र हिमपातको समयमा घरभित्र पानीको पोखरी बन्ने धनुको घरको छाना जस्तापाताले छाउने भएपछि उत्साहित छन् ।

‘मेरो घरको छाना फरिदाँ धेरै खुसी छु,‘घर राम्रो भएमात्रै अरु काम गर्न पनि जोश आउँदो रहेछ’ धनुलाई उद्धित गदैं गाउँपालिका अध्यक्ष पुनका स्वकीय सचिप सुरेन गुरूङले बेनीअनलाइनलाई भने ।उनका अनु्सार गाउँपालिका अध्यक्ष पुनले १० फुटका १६ वटा टिन हस्तान्तरण गरेका थिए । करिव ३० देखि ३५ हजार लाग्ने अनुमान गरिएको छ । गाउँपालिका अध्यक्ष पुनले नेपाल सरकारले उपलब्ध गराउने तलबभत्तालाई समुदायको हितमै खर्च गर्ने गरेपनि ब्यक्तिगत आम्दानीलाई समेत प्रयोग गर्ने बताए । ‘गरिबका घरको फुसको छाना हटाउन अभियान नै सञ्चालन गर्छु,‘हरेक वडाबाट तथ्याङ्क संकलन गदैं मेरो कार्यकालमा यो अभियानलाई पुरा गर्छु’ पुनले भने ।

उनले गरिव तथा विपन्न परिवारलाई प्राथमिकता दिई खर, पराल र फुसको छाना विस्थापितका लागि गाउँपालिकाबाटै कार्यक्रम ल्याउने समेत बताए। गरिबीका कारण फुसको छानामा ओत लाग्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा सहयोग गर्न समेत अध्यक्ष पुनले स्वदेश तथा विदेशा रहेकालाई अपिल गरेका छन् । गाउँपालिकाभित्रका ८ वटै वडामा आधारभुत आवश्यकतामा पुरा गर्ने गरी बजेटमा प्राथमिकता दिने अध्यक्ष पुनको भनाई छ । जिल्लाको ग्रामिण क्षेत्रमा स्लेट ढुंगा, टिन, काठ र खरले छाएका घरहरु अत्याधिक रहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा हिस्तानकी वडा सदस्य मायाँ पुन लगाएतको उपस्थिती रहेको थियो ।