पाँचबर्ष अगाडी मौरीपालन सुरू गरेका मंगला गाउँपालिका–१ कुहुँ मौलाथरका गोविन्द खत्रीले घरमै बसेर मह र मौरीसंगैको घार बेच्नुभयो । बैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुकबाट फर्किएर मौरीपालन सुरु गर्नुभएका खत्रीले बार्षिक १४ लाखभन्दा धेरै घरमै बसेर कमाउने गरेको बताउनु हुन्छ ।

स्वदेश तथा विदेशमा मह बेचेरै मनग्य आम्दानी गर्न थालेका खत्रीको सिको गर्नेहरुको संख्या पनि उत्तिकै छ ।प्रतिघार मौरीसहित ८ हजार र प्रतिकेजी महलाई १५ सयमा विक्री गर्ने खत्रीकोमा जिल्लाका विभिन्न गाउँबाट खरिदकर्ता नै घरमा आउन थालेपछि दुईबर्षमा करिव ३ सय घार बनाउने योजना बनाएको बताउनुभएको छ ।

घारसहितको मौरीजस्तै महको समेत अग्रिम बुकिङ हुन थालेपछि खत्री उत्साहित हुनुहुन्छ । बैदेशीक रोजगारको सिलसिलामा डेढ दशक साउदी अरब र इराकमा विताएर घर फर्किएका खत्रीले घरायसी प्रयोजनका लागि छिमेकी बेनी नगरपालिका–५ पुलाचौरको डडुवाबाट प्रतिघार ३५ सयको दरमा ल्याएका ३ वटा घारबाट ब्यवसायीक सम्भावना देखेपछि चारबर्ष अगाडी सुरू गरेको मौरीपालनबाट गर्नुभएको थियो । पहिलोबर्ष १० हजार आम्दानी गरेका खत्रीले गतबर्ष १४ लाखको विक्री गरेको बताउनुभयो ।

दुई बर्षसम्म बजारको खोजी गर्नुपर्ने अवस्था भएपनि अहिले यूरोपका विभिन्न देशमा जाने म्याग्देलीले समेत कोशेलीको रूपमा प्रयोग गर्ने गरेका छन् । घरमाथी इन्टनरेटको एन्टिना राखेर महलाई सामाजिक सञ्जालबाटै देखाएर समेत खत्रीले विदेशमा रहेका नेपालीको अडर लिने गर्नुभएको छ ।

विना तालिम र अनुदानमा मौरीपालन सुरू गरेका खत्रीले केही महिना मौरीले टोक्दा गाउँमा समेत सबैले हाँसोठट्टा गर्ने गरेको भएपनि अहिले मौरी नै साथी भएको खत्रीको भनाई छ । घारबाट सहजै मौरी निकाल्ने गरेका खत्रीले विहानै देखि रातीसम्म मौरीको सेवा गर्ने गरेकाले पनि परिवारजस्तै भएको भएको खत्रीको अनुभव छ । खत्रीको अनुभवलाई मंगला गाउँपालिकाले समेत प्रयोग गरेको छ । गाउँपालिकाकाले अनुदानमा वितरण गर्ने घार खत्रीबाटै खरिद गर्ने गरेको छ ।अमेरिका, दक्षिण कोरिया, अस्टे«लिया, यूके लगायत विश्वका ठुला देशमा पुगेका यूवाहरूले समेत कमाईका बारेमा जिज्ञासा राख्ने गरेको बताउँदै आफ्नो कमाईभन्दा धेरै भएको बताउँदा थप उत्साहित हुने गरेको अनुभव समेत सुनाउनुभयो ।

गतबर्ष १ सय ८० केजी मह, ११० वटा घार सहित मौरी विक्री गरेका खत्रीसंग ८५ वटा घार रहेका छन् । घरगोठ र आसपासका खेतबारी, छिमेकी र आफन्तको घरदैलोमा समेत मौरीका घार राखेका खत्रीले मौरीको चरनक्षेत्र समेत ब्यवस्थापन गरिएको छ । गाउँ आसपासका क्षेत्रमा रहेको लालिगुराँसको जंगल, घर नजिकै रहेको पैयूको बोट, खेतबारीमा तोरीखेतीबाट समेत चरनमा सहज भएको भएको छ ।कृतिम रानो मौरी बनाएर समेत धमाधम नयाँ घारमा मौरी स्थानान्तर गर्ने गरेका खत्रीले हरेकबर्ष आफ्नै लगानीमा समेत तालिम लिने गरेका छन् ।

एउटा घारमा ४ घार मौरी उत्पादन गर्ने खत्रीले घरबाटै प्रतिकेजी १ हजार ३ सय रुपैयाँमा विक्री गर्ने गरेका छन् । कृतिम रानो मौरी बनाउन जानेपछि आम्दानी दोब्बरले बढ्दै जान थालेको छ । प्रत्येक वर्षको असोज १५ देखि मंसिर १५ र फागनुदेखि जेठ महिना विशेष गरी मौरीको हेरचाहमा समय बिताउने गरेको उनको अनुभव छ । पछिल्लो समय जिल्लामा सानो लगानीमा मनग्य आम्दानी गर्न सकिने मौरीपालनप्रति आर्कषण बढेको छ । जिल्लामा बार्षिक ४० मेट्रिकटन मह उत्पादनको अनुमान गरिन्छ ।