सुशिलबाबु थकाली,

मुस्ताङ । यो वर्ष मुस्ताङमा मात्रै आंशिक ४ र भारी ९ गरी १३ औं पटक भन्दा बढी हिमपात भएको छ । गत माघ महिनाको २५ गते शुक्रबार राति परेको हिमपात अहिलेसम्मकै उच्च मानिएको भएपनि आज रातिदेखि परेको हिउँ तुलनात्मक हिसाबले भारी भएको मान्न सकिन्छ ।

फागुन महीना सुरु हुन नपाउदै लगातार रुपमा हिमपात हुँदा मुस्ताङको जनजीवन कष्टकर बन्दै गएको छ । फागुनको आधा महीना बितिसक्दा पनि हिमपात रोकिएको छैन, भने यहाँको जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।

बर्खामा याममा भारी वर्षा भएको कारण चिसो अत्यधिक मात्रामा बढेको थियो । यसैको असर हिउँद सुरु हुन नपाउदै देखा परेको छ ।

गत पुसको पहिलो सातामै हिमपातको लक्षण देखा परेको थियो । आज साँझबाट पर्न सुरु गरेको हिमपातले मुस्ताङको जनजीवन थप प्रभावित पार्न सक्ने अनुमान लगाउन सकिन्छ । खेतीपातीलाई टेवा पुगेपनि यसपटकको नियमित हिमपातले हिउँदे बालीलाई पूरै असर पु¥याएको छ ।

पुसको पहिलो साताबाट आंसिक रुपमा पर्न सुरु गरेको हिउँ फागुनको दोस्रो सातासम्म पनि निरन्तर परिरहँदा मुस्ताङको हिउँदे बालीलाई पूरै प्रभावित बनाएको छ । हिउँदे बाली मध्ये उवा, जौ, लोकल आलु, रातो आलु, लसुन लगायतलाई असर गरेको छ । अहिलेसम्म खेत बाँझो मारेर हिउँदे बाली लगाइसक्नुपर्ने भएता पनि हिमपातको कारण सम्भव नभएको कृषकहरुले बताएका छन् ।

निरन्तर हिमपातले अझैसम्म खेत बाँझो मार्न नभ्याएको र हिउँदे बाली समेत लगाउन नपाएकोले उवा, जौको मूल्य ह्वात्तै बढ्ने अनुमान लगाउन सकिन्छ ।