एक शिक्षक बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। उदयपुर जिल्लाको कटारी नगरपालिका ८  घुम्तीस्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विनोद लोहनी सोही ठाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा समातिएका हुन्।

मंगलबार राति साढे ८ बजे ट्युसन पढाउने बहानामा कोठाभित्र पसेर बालिकालाई बलात्कार गरेको उजुरी उनीमाथि परेको हो। सोही उजुरीका आधारमा २८ बर्से लोहनी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। चितवन कठार नगरपालिका ४ स्थायी घर भएका लोहनी सो विद्यालयका अस्थायी शिक्षक हुन्। घटनाबारे थाहा पाएर अभिभवकले फोनमार्फत जानकारी गराएपछि राति नै गएको अस्थायी प्रहरी चौकी बेतिनीको टोलीले लोहनीलाई नियन्त्रण लिएको हो। उनीमाथि थप अनुसन्धान हुँदै छ।